२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

चिलिमे सुरुङबाट लेदो पन्छाउने कार्य तीव्र: ६० मिटर सफा, सक्न अझै ३ दिन लाग्ने

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो र गेग्रान पन्छाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

भारी उपकरण र म्यानुअल (हाते औजार) दुवै माध्यमबाट भइरहेको कामको हालको गतिअनुसार सुरुङ पूर्ण रूपमा खुलाउन अझै दुईदेखि तीन दिन समय लाग्ने देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेका अनुसार आज बिहान ६ बजेदेखि नै एक्स्काभेटर र ह्विल लोडर प्रयोग गरी सुरुङभित्रको लेदो निरन्तर हटाउने काम भइरहेको छ।

साँझसम्म करिब ६० मिटर खण्डबाट लेदो निकालिसकिएको छ। यही गतिमा काम अघि बढे उपकरणमार्फत लेदो पन्छाउने काम सक्न थप तीन दिन लाग्ने अनुमान छ।

यसैगरी, उद्धार टोलीले म्यानुअल रूपमा सुरुङको माथिल्लो भाग खोतल्दै अघि बढ्ने कामलाई पनि तीव्रता दिएको छ। कुल २४० मिटरमध्ये १२० मिटर भित्रसम्मको भाग खोतल्ने काम सम्पन्न भइसकेको सांसद न्यौपानेले जानकारी दिए।

सुरुङभित्रको वास्तविक अवस्था अझै यकिन भइनसकेकाले म्यानुअल कार्य सम्पन्न हुन पनि थप २ देखि ३ दिन लाग्न सक्ने अनुमान गरिएको छ। जटिल भौगोलिक अवस्थाका बीच सुरुङ सफा गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।

प्रकाशित: २७ भाद्र २०८३ १९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App