१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न थालियो काम

म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीयस्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ।

सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दिर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण सुरु गरेको हो।

राहुघाट नदीको किनारमा ५३ मिटर दुरीमा नदीको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाउन लागिएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले बताए।

रुपैयाँ दुई करोड १३ लाख ६६ हजार आठ सय ७८ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि २०८२ भदौ ४ गते निर्माण कम्पनीसँग एक करोड ४२ लाख ५३ हजार छ सय ४६ मा ठेक्का सम्झौता भएको छ।

आउँदाे २०८३ असार २५ गतेभित्र योजना निर्माण सम्पन्न गर्ने ठेक्काको अवधि छ। कम्पनीले राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिसकेको छ।

गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रूपमा रहेको छ। साधुसन्तहरू ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ। गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तिर्थयात्रीहरूलाई बसोबासको व्यवस्था मिलाइएको छ।

यस वर्ष बेनीसहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख विदुरमान श्रेष्ठले बताए।

ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन्। ती आयोजनाहरूको कुल लागत अनुमान रुपैयाँ २० करोड २९ लाख ७६ हजार आठसय ३९ छ। 

प्रकाशित: १६ पुस २०८२ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App