काठमाडौंको त्रिपुरेश्वरमा एक युवाले आत्मदाह गरेको घटना साम्य नहुँदै राजधानीमा फेरि अर्को आत्मदाहको प्रयास भएको छ।
काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित डेरामा शनिबार बिहान एक पुरुषले आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।
आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका ४५ वर्षीय अश्विन राउतलाई तत्कालै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
अस्पतालका अनुसार राउतको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेकाले उनको अवस्था चिन्ताजनक छ र हाल उपचार जारी छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राउतको आफ्नो छोरासँग केही विषयमा विवाद भएको थियो। घरमा श्रीमती र छोरा नभएको मौका छोपी उनले शनिबार बिहान सवा ६ बजेतिर भान्सा कोठामा गएर आफैँमाथि तेल खन्याई आगो लगाएको खुलेको छ।
प्रकाशित: २७ असार २०८३ ०८:५९ शनिबार





