३० असार २०८३ मंगलबार
image/svg+xml
समाज

अश्विन राउत आत्मदाह प्रयास प्रकरणमा के भन्छ परिवार ?

काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचार भइरहेको छ। परिवारका सदस्यले घटनालाई पारिवारिक विवादसँग जोडेर गरिएका समाचार तथ्यहीन रहेको भन्दै संयमता अपनाउन सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।

परिवारका अनुसार शनिबार बिहान करिब ६ बजे आफ्नै घरमा घटना भएको हो। राउतकी श्रीमती श्राद्धको तयारीका क्रममा नुहाउन गएकी बेला राउतले स्कुटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।

राउतका भाइ दीपक राउतका अनुसार ठूलो आवाज सुनेपछि परिवार, छिमेकी, नजिकैको होस्टेलमा बस्ने युवाहरू र प्रहरीको सहयोगमा आगो निभाएर तत्काल वीर अस्पताल पुर्‍याइएको हो।

दीपकका अनुसार एक वर्षअघि अश्विन राउतको स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्यमा अपेक्षित सुधार नआएकाले उनी लामो समयदेखि मानसिक तनावमा रहेको परिवारले महसुस गरेको थियो।

"उहाँको उपचारलाई थप अघि बढाउने तयारी भइरहेको थियो। तर त्यसअघि नै उहाँले यस्तो कदम चाल्नुभयो," दीपकले बताए।

यसबीच केही सञ्चारमाध्यमले घटनालाई पारिवारिक विवादसँग जोडेर समाचार प्रकाशन गरेकोप्रति परिवारले गम्भीर असन्तुष्टि जनाएको छ।

दीपक राउतले घटनाको वास्तविकता पुष्टि नगरी अनुमानका आधारमा समाचार प्रकाशित गर्दा परिवार थप मानसिक पीडामा परेको बताए। प्रत्येक घटनाको प्रकृति फरक हुने भएकाले तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने उनको आग्रह छ।

"हामी अहिले अत्यन्तै ठूलो शोक र मानसिक पीडामा छौँ। यस्तो संवेदनशील समयमा आधारहीन कुरा लेखेर परिवारलाई थप तनाव नदिन र समाचारमा संयमता अपनाइदिन अनुरोध गर्दछौँ," उनले भने।

उनले केही सञ्चारमाध्यमले पारिवारिक झगडा वा अन्य पुराना घटनासँग जोडेर समाचार प्रकाशित गर्दा परिवारलाई थप मानसिक तनाव भएको उल्लेख गर्दै भ्रामक र असत्य सूचना तत्काल सच्याउन सम्बन्धित पक्षसँग माग गरे।

परिवारका अनुसार अश्विन राउतको वीर अस्पतालमा उपचार जारी रहेको छ भने चिकित्सकको निगरानीमा स्वास्थ्य अवस्थाको निरन्तर मूल्यांकन भइरहेको छ।

प्रकाशित: २७ असार २०८३ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App