तालिम हलमा पलेटी कसेर बसेकी ‘कमरेड ११’ गम्भीर बनिन् । आफूअगाडि बसेकी अर्की महिलालाई हेर्दाहेर्दै उनका आँखा भरिए । जुरुक्क उठेर अँगालोमा बाँधिएका ती दुई महिला भक्कानिँदै हलबाट बाहिरिए । घन्टौं सँगै बसेर गफिएका ‘कमरेड ११’ र ‘कमरेड १२’ माओवादी विद्रोहताका तत्कालीन ‘जनमुक्ति सेना’मा सिपाही थिए । उनीहरूले इच्छाले होइन, बाध्यताले यो बाटो रोजेका थिए ।
घटना १
तत्कालीन माओवादी विद्रोहताका सुरक्षाकर्मी गाउँ छिरेपछि स्थानीय बासिन्दा घर छाडेर जंगलतिर भाग्थे । २०५५/५६ सालतिर रोल्पाको एउटा दुर्गम गाउँमा गस्तीका नाममा प्रहरी गाउँ पस्दा भाग्ने मेसो नपाएका १४ वर्षीया दुई किशोरी ठुलो डोकोभित्र लुके । दुर्भाग्य सरकारी बन्दुक समाएका एकजनाको आँखाले तिनलाई पच्छयाइहाल्यो ।
प्रहरीले उनीहरूलाई जबर्जस्ती गाउँबाट हिँडाएका ती किशोरीले प्रहरी हिरासतमा शारीरिक यातना मात्र खेपेनन्, सामूहिक बलात्कार पनि सहनु पर्यो । दिन, साता, महिना बितेपछि तन र मन दुवै अधकचल्टो बनाएर उनीहरू गाउँ फर्के । प्रहरीप्रति पीडा, रिस र आवेश बोकेर गाउँ फर्केका उनीहरु जबर्जस्त माओवादी बन्न बाध्य भए ।
राजनीति नबुझेका उनीहरु माओवादी कहलिए । जीवनको एउटा कालखण्डमा लडाइँको मोर्चामै रहँदैगर्दा वैवाहिक जीवनमा बाँधिएका ती दुई किशोरीबिच २०५९/६० सालतिरबाट भेटघाट पनि टुट्यो । आफ्नै दैनिकीमा व्यस्त उनीहरुमा अहिले विगतको स्मृति मात्र छ ।
द्वन्द्वका क्रममा यौन हिंसा भोगेकाहरुका लागि मानसिक स्वास्थ्य र अन्तरिम परिपुरणीय उपायमा क्रियाशील ‘नागरिक आवाज ललितपुर’ले आयोजना गरेको एउटा कार्यक्रममा करिब २२ वर्षपछि ती पीडितको पुनर्मिलन भएको हो । कमरेड १२ भन्छिन्, ‘उतिबेलाका भयानक हिंसाको पुनरवलोकन गर्दैगर्दा बगेका आँशुले मन चंगा भएको अनुभूति हुन्छ ।’ गुनासो पनि छ उनको– हामी लुटियौं तर हाम्रा समस्याबारे आजसम्म कोही बोलेनन् ।
घटना २
द्वन्द्वका समयमा माओवादी स्वीकार गर्न वा माओवादी देखाउन/चिनाउन भन्दै विभिन्न गाउँबाट पक्राउ गरी किशोरावस्थामै प्रहरी हिरासत हुँदै कारागारसम्म पुर्याईएका ६ जना देश शान्तिप्रक्रियामा प्रवेश गरेपछि तिरबितर बने । उनीहरू अहिले पनि मानसिक पीडा बोकेर बाँचिरहेका छन् । कमरेड ११ र कमरेड १२ जस्तै २४ वर्षपछि एकैथलोमा भेटिएका ती ६ जनाले पनि राज्यको धरपकड र जेल जीवनपछि बाध्यतावस माओवादी बन्नुपरेको कथा सुनाए । नागरिक आवाज ललिपुरले आयोजना गरेको कार्यक्रममा सहभागी भएका ६ जनामध्ये पाँच सजिलै आपसमा चिनिए । एकजनाको कपाल सेतै फुलेको र अनुहार पनि चाउरिएका कारण चिनिन केही समय लाग्यो । रसाएका आँखासँगै अँगालोमा बेरिएका उनीहरु धेरैबेर विगत सम्झेर दुखिरहे ।
कार्यक्रममा हलमा मात्र सँगै होइन राति पनि एउटै कोठामा बसेका उनीहरुले पहिलो रात आँखा झिमिक्क नपारी बिताए सुनाए । ‘यति धेरै कुरा गर्यौं । विगत सम्झेर रातभर रोयौँ अनि दुःखसुखका कुराले मन पनि पखाल्यौं, ६ जनामध्येकी एकले भनिन्, ‘हामी ६ जना त भेटियौं तर हामी जस्ता अरु धेरै दिदीबहिनीलाई पनि एकै ठाउँमा भेट गराइदिए मन साट्न पाइन्थ्यो ।’ घाउ र दुखाइ एउटै भएका उनीहरु सँगै भेटिएर गफिन चाहान्थे ।
खाना पकाउन आदेश दिएका माओवादी कमान्डरले कनिष्ठ कमरेडलाई दैलोमा बसाएर आफूलाई भान्सा कोठामा बलात्कार गरेको बेथा पनि कार्यक्रममा एक महिललो सुनाइन् । यसैकारण पति होस् या आफन्त पुरुष कसैसँगको सामिप्यता पनि आज उनलाई गतिलो लाग्दैन । ती महिला भन्छिन्, ‘किन किन पुरुषप्रति मनमा सम्मान जाग्दैन ।’ हिंसापीडितको भेलामा सहभागी ती महिलाले भनिन्, ‘हामीलाई द्वन्द्व पीडित नै मानिँदैन । अझ राज्यले त आफूहरूसँग बलात्कृत भएको प्रमाण पो खोज्छ ।’
यौनहिंसा पीडितका सवालमा विद्यावारिधि गरेकी र द्वन्द्वकालका यौनहिंसा पीडितको मानसिक स्वास्थ्य र अन्तरिम परिपुरणीय उपायमा काम गरिरहेको नागरिक आवाज ललितपुरकी कार्यालय प्रमुख डा. सुसन रिसालले माओवादी द्वन्द्वका समयमा यौनहिंसामा परेका करिब ३५० बढी महिलालाई एकैथलोमा भेट्ने अवसरको जोहो गरेकी हुन् । ‘शान्ति र न्यायको बाटो...’ नामक ब्यानरमुनि भेला भएका ती महिलाले दुई दिनसम्म न्याय र परिपुरणका उपाय खोजे । कार्यक्रममा धेरै वर्षपछि भेटिएका र कहिल्यै नदेखिएका यौनहिंसापीडितहरुले मन र पीडा साटे ।
आफ्नै मौलिक भेषभूषामा सयौंको संख्यामा जम्मा भएका उनीहरुलाई समूह कार्य, सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पुगेका उजुरीको अवस्थालगायतका विषयमा जानकारी गराइयो । पीडितका चासो र चिन्तामाथि गहन छलफल गर्दै भेलाले घोषणापत्रसमेत जारी गरेको छ । नयाँ सरकारसँग न्यायको अपेक्षा बोकेका उनीहरु गोपनीयताका साथ आफूहरुका माग सम्बोधन हुनेमा आशावादी छन् ।
समूह कार्यमा सहभागीले धेरै गहकिला सुझाव सुझाएर घोषणापत्र पनि तयार पारेका हुन् । नयाँ सरकारसम्म आफ्नो आवाज पुगोस् भन्ने अपेक्षा राखेका उनीहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा परेका उजुरीको सुरक्षा र गोपनीयतामा ध्यान दिन पनि अनुरोध गरेका छन् । उनीहरूले घोषणापत्रमार्फत १० बुँदे माग अघि सारेका छन् । न्याय भोलि होइन, आजै पाइयोस्, कानुनले तुरुन्तै देखोस, दोषीलाई सजाय होस, उपचार र सुरक्षाका लागि चिकितसक्, मनोविमर्शकर्ता र सुरक्षित स्थान उपलब्ध गराइयोस्, शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा परिपुरण दिइयोस, सुरक्षा प्रदान गरियोस्, निगरानी र स्वतन्त्र अनुगमन गरियोस् ताकि न्याय नमरोस, न्याय प्रक्रिया पारदर्शी र प्रभाकारी होस, हाम्रो पीडामा राज्यले पनि पीडा बोध गरोस्, सम्मानका साथ समाजमा घुलमिल हुने वातावरण तयार पारियोस्, २०६३ को शान्तिसम्झौताको वाचा कार्यान्वन होस्– राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालनासहित, राज्यको नीति तथा कार्यक्रममा हाम्रो आवाज प्रतिविम्बित होस्, योजना निर्माणदेखि कार्यान्वयन तहसम्म सहभागी गराइयोस्, कानुनी जटिलतामा कसैको पनि आवाज नहराओस्, निःशुल्क कानुनी सहयोग र न्याय प्रक्रिया उपलब्ध गराइयोस् जस्ता माग उनीहरूले अघि सारेका छन् ।
साढे तीन सय बढी द्वन्द्वकालीन यौनहिंसापीडितलाई एकै थलोमा सहभागी गराउन सफल नागरिक आवाज लालितपुरकी डा. रिसालले हिंसापीडितका मागहरु सरकारसम्म पुर्याउन पुलका रुपमा काम गर्ने बताइन् । ‘देश शान्ति प्रक्रियामा प्रवेश गरे पनि द्वन्द्वकालीन यौनहिंसाको सवाल राज्यको प्राथमिकतामा परेको छैन । द्वन्द्वमा १२ वर्षीयादेखि ६० वर्षीयासम्म बलात्कारको सिकार बने,’ रिसालले भनिन्, ‘संक्रमणकालीन न्याय अघि बढ्न नसकेको अवस्थामा पीडितलाई हामी एक्ल छैंनौं भन्ने बाधे गराउन यो भेला आयोजना गरिएको हो ।’
उनले पीडितलाई मानसिक, शारीरिक र आर्थिक रुपमा सबल बनाउन संस्थाले पहल गरिरहेको बताइन् । ‘पीडितहरुलाई मनैदेखि सबल बनाई नेतृत्वमा पुग्न र बाँच्न सक्ने बनाउनु हाम्रो उद्देश्य हो,’ रिसालले भनिन्, ‘जीवन सुन्दर छ भनेर देखाउन, अनुभूति गराउन र दबिएका आवाज बाहिर ल्याउन जरुरी छ । माया, समर्पण अनि दिनेलिने होइन सन्तुलित शक्ति परिभाषित गराउन खोजिएको हो । मायाको शक्तिले जीवन उठाउन खोजिएको हो । हल्लाखल्लाबिना पनि ठुला समस्या समाधान गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’
संक्रमणकालीन न्यायमा विद्यावारिधि गरेकी इन्टरनेसनल कमिसन अफ जुरिस्ट आइसिजेकी कानुनी सल्लाहकार तथा एडभोकेसी फोरमकी सस्थापक डा. मन्दिरा शर्माले द्वन्द्वकालीन हिंसापीडितको महाभेला आफूलाई ऐतिहासिक लागेको बताइन् । ‘यस्तो ठुलो कार्यक्रम पहिलो पल्ट भएको हो । सामूहिक रुपमा भेट्दा उहाँहरुलाई एक्लो रहेनछौ भन्ने फिल भएको छ ।’
दुई दिनसम्म चलेको पीडितको भेलामा शर्माले थपिन्, ‘यस्ता सकारात्मक गतिविधिले उहाँहरुलाई हेर्ने समाजको नजर फेरिन्छ । पीडितका समस्या सम्बोधन गर्न दबाब बढ्छ । हिंसापीडित संगठित हुनु महत्त्वपूर्ण हो । पीडितका सवालमा सकारात्मक नतिजा निकाल्नुपर्छ र समाज रुपान्तरण गर्नुपर्छ । यो एउटा पवित्र सामूहिक अभियान हो ।’
यौनहिंसापीडितका सवालमा काम गरिरहेको ग्लोबल सरभाइभर फन्डका नेपाल प्रमुख शिखा भट्टराईका अनुसार ५ जिल्लामा मानसिक स्वास्थ्य र परिपुरणीय सहयोगका क्षेत्रमा काम भइरहेको छ । ‘माओवादी द्वन्द्वकालका यौनहिंसापीडितको मानसिक स्वास्थ्य र अन्तरिम परिपुरणीय उपायमा हामीले काम गरिरहेका छौं । यो भेलामा उहाँहरुले घोषणापत्रमार्फत आफ्ना मागहरु सार्वजनिक गर्नुभएको छ,’ उनले भनिन्, ‘मागहरु सरकार र दातृनिकायको पहुँचसम्म पुर्याउँछौं ।’
यतिबेला सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पुराना तीन सय १४ र नयाँ तीन हजार नौ सय १२ यौन हिंसा प्रभावितका उजुरी न्यायको पर्खाइमा छन् । हिजो सशस्त्र द्वन्द्वमा सहभागी दल सत्तामा रहँदा सम्बोधन हुन नसकेको संक्रमणकालीन न्यायलाई नयाँ सरकारले टुंगोमा पुर्याओस् भन्ने माग पीडितको छ ।
प्रकाशित: ४ वैशाख २०८३ २०:०६ शुक्रबार





