झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान मेचीनगर-१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१-००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
दुर्घटनामा मेचीनगर-१५ निवासी ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए ।
दुर्घटनापछि स्कोरपियो चालक भद्रपुर नगरपालिका-१० निवासी ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर-६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस
प्रकाशित: ४ श्रावण २०८३ १९:३८ सोमबार





