वीरगंज महानगरले वृक्षरोपन गर्न तिलावे नदी छेउको सार्वजनिक जग्गामा लगाएको तारबार अपरिचित समूहले भत्काएको छ।
वीरगंज महानगरपालिका १९ विन्दवासिनीस्थित तिलावे नदी सँगै जोडिएको सार्वजनिक जग्गामा महानगरले अतिक्रमणमुत्त गरी वृक्षरोपण गर्नका लागि लगाएको तारबारसहितको पोलहरू अपरिचित समूहले तोडफोड गर्नुका साथै उखेलेर फालिदिएको हो।
तिलावे नदी सँगै जोडिएको करिब ७ बिघा सार्वजनिक जग्गा स्थानीयले वर्षौंदेखि अतिक्रमण गरी खेती गर्दै आएका थिए। गत असारमा अतिक्रमणको चपेटामा परेको जग्गा कब्जा गरी महानगरले तारबार लगाएर वृक्षरोपन तयारीमा जुटेको थियो।
महानगरका मेयर राजेशमान सिंहले नगर प्रहरीसहितको टोलीले ७ बिघा क्षेत्रफलको सार्वजनिक जग्गा अतिक्रमणमुक्त गरी वृक्षरोपनका लागि तारबार गरिएको जग्गामा केही गलत मानसिकता बोकेका अपरिचित व्यक्तिहरूले सिमेन्टको पोल र तारबार उखेल्नुका साथै तोडफोड गरेको बताए।
सम्पूर्ण जग्गामा महानगरले ८० वटा सिमेन्टको पोल गाडेर घेराबेरा गरेकोमा करिब ३४ वटा पोल र तारबार उखलेर ति समूहले फालेको मेयर सिंहले बताए। महानगरपालिकाले पोल र तारबार उखालेर फाल्ने कार्यमा संलग्नहरूलाई तत्काल पक्राउ गर्न पर्सा प्रहरीलाई लिखित रूपमै सोमबार उजुरी गरेको मेयर सिंहले बताए। उनले भने, ‘खराब मानसित्ता बोकेका अराजक एवं उच्छृंखल व्यत्तिहरूको पहिचान हुन सकेको छैन। तर जसले सार्वजनिक जग्गा वर्षौंदेखि जबरजस्ती अतिक्रमण गर्ने समूहमाथि नै शंका लागेको छ सकभर तिनीहरू कै हात हुनुपर्छ।’
सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षरोपन अभियानमा नियोजित रूपमा अवरोध पुर्याइएको भन्दै मेयर सिंहले भने, ‘यस्ता आपराधिक गतिविधिमा संलग्न जो सुकै भएपनि तीनलाई कानुनी दायरामा ल्याएर छाड्छौँ।
महानगरले सार्वजनिक जग्गमा लगाएको घेराबेरा तोडफोड गर्ने समूहको खोजी भइरहेको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।
प्रकाशित: ६ श्रावण २०८२ ०९:५३ मंगलबार





