३० भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

बौद्धनाथ क्षेत्रको भेटी अब पारदर्शी होला ?

फाइल तस्बिर

काठमाडौं महानगरपालिका-६ स्थित ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल बौद्धनाथ क्षेत्रबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी हुने अनुमान छ। तर यसअघि ती क्षेत्रबाट केकति आम्दानी भयो र के कसरी खर्च हुन्छ भन्ने कुनै हिसाब छैन। यही कारण अब त्यो हिसाबलाई पारदर्शी बनाउने योजना थालिएको छ।

बौद्धनाथ क्षेत्रको पूजापाठ तथा धार्मिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समिति गठन भई कार्य प्रारम्भ भएपछि यसका लागि पहल थालेको जनाइएको छ। समितिका अध्यक्ष खड्गजित लामाको अध्यक्षतामा नौ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन भएसँगै यसका लागि पहल थालिएको जनाइएको छ। समितिका अध्यक्ष लामाका अनुसार यसअघि यो क्षेत्र कुनै एक व्यक्तिबाट सञ्चालित थियो। त्यसकारण त्यहाँ हिसाबकिताब मात्रै होइन, सबै विषय अस्तव्यस्त थियो, अपारदर्शी थियो। तर समिति गठन भई कार्य प्रारम्भ भएपछि यसलाई व्यवस्थित बनाउने योजना थालिएको उनले जानकारी गराए।

‘नयाँ व्यवस्थापन प्रणालीको महत्त्वपूर्ण पक्षका रूपमा गुठीको आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था गरिएको छ,’ अध्यक्ष लामाले राजधानीमा पत्रकार सम्मेलन नै गरी भने, ‘समितिको नाममा स्थानीय बैंकमा खाता सञ्चालन गर्ने र अध्यक्ष, सचिव तथा कोषाध्यक्षमध्ये दुई जनाको संयुक्त हस्ताक्षरबाट बैंक कारोबार सञ्चालन गर्ने व्यवस्था गरिएको छ।’

गुठीको आम्दानी र खर्चको स्पष्ट अभिलेख राख्ने तथा आर्थिक वर्ष समाप्त भएको ९० दिनभित्र लेखापरीक्षण गराई सम्बन्धित गुठी कार्यालय तथा मालपोत कार्यालयमा प्रतिवेदन पेस गर्ने व्यवस्था पनि गरिएको उनले जानकारी गराए। यसैगरी कार्यकालभरिको आयव्यय विवरण सम्बन्धित गुठी कार्यालय तथा मालपोत कार्यालयमा नियमित रूपमा बुझाउने व्यवस्था गरिएको उनले सुनाए। यसले गुठीको आम्दानी कहाँबाट आयो र खर्च कहाँ भयो भन्ने विषयलाई अभिलेखमा राख्ने आधार तयार गर्ने उनको भनाइ छ।

गुठी संस्थान सञ्चालक समितिको २०८३ वैशाख ११ गतेको निर्णयअनुसार खड्गजीत लामाको अध्यक्षतामा नौ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन भएको थियो। गुठी संस्थान ऐन, २०३३ को दफा १६ र १७ तथा गुठी देवस्थल व्यवस्थापन समिति गठन सम्बन्धी निर्देशिका २०८१ को प्रावधानबमोजिम पहिलो पटक यो समिति गठन गरिएको थियो। 

नवगठित समितिका पदाधिकारीहरूमा अध्यक्ष खड्गजित लामा, सचिव टासी लामा, कोषाध्यक्ष शैलेन्द्र लामा, सदस्यहरूमा किशोर लामा, निर्मला लामा, पदेन सदस्यहरूमा गुठी संस्थान शाखा कार्यालय काठमाडौंका प्रतिनिधि, काठमाडौं महानगरपालिका-६ का वडाध्यक्ष, पुजारी लामा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी र जिल्ला प्रशासन कार्यालय, प्रतिनिधि रहेका छन्। समितिमा स्थानीय प्रतिनिधिदेखि सरोकारवाला निकायका प्रतिनिधिहरू समावेश छन्। समितिले हालसालै मात्रै कार्य प्रारम्भ गरेको थियो।

पत्रकार सम्मेलनमा समितिका सदस्य एवं काठमाडौं महानगरपालिका-६ का वडाध्यक्ष भुवन लामाले दशकौंपछि यो क्षेत्रको व्यवस्थापन जनताको हातमा आएको बताए। अब यसलाई व्यवस्थित रूपमा अगाडि लाने योजना समितिले बनाएको उनले सुनाए। उनका अनुसार यसअघि यहाँको हिसाबकिताब कुनै पारदर्शी थिएन। तथापि वार्षिक सवा करोडभन्दा बढी आम्दानी हुने अनुमान उनले गरे। उनका अनुसार आम्दानीको मुख्य स्रोत भेटी हो। बौद्धानाथ क्षेत्रमा आउने विदेशी पर्यटकहरूसँंग उठाउने प्रवेश शुल्कलगायतको आम्दानी भने अर्कै समिति वा पक्षसँग सरोकारको विषय हो।

नवगठित समितिलाई बौद्धनाथको परम्परागत धर्म, संस्कृति र दैनिक पूजाआजा कार्यलाई निरन्तरता दिने मुख्य कार्यभार छ। साथै गुठीको स्वामित्वमा रहेका चलअचल सम्पत्तिको अधिकतम परिचालन, संरक्षण र संवर्द्धन गर्ने जिम्मेवारीसमेत समितिलाई छ। यही कारण समिति गठन भई कार्य प्रारम्भ भएपछि बौद्ध क्षेत्रको धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापनमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।

हालको समितिले गुठी सञ्चालनलाई संस्थागत, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ व्यवस्थापन प्रणाली अघि सारेको जनाएको छ। यसअघि गुठीको व्यवस्थापन एकलौटी रूपमा हुँदै आएकोमा अहिले व्यवस्थापन समिति गठन गरी सामूहिक जिम्मेवारी र निर्णय प्रक्रियाबाट गुठी सञ्चालन गर्ने व्यवस्था गरिएको हो। समितिले गुठीका धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै आर्थिक, सम्पत्ति संरक्षण र प्रशासनिक पक्षलाई समेत व्यवस्थित गर्ने व्यवस्था गरेको जनाएको छ।

नवगठित समितिलाई भक्तजन तथा अन्य स्रोतबाट प्राप्त रकम, भेटी, जिन्सी तथा अन्य सामग्रीको अभिलेख राख्ने र उचित व्यवस्थापन गर्ने कार्यभार छ। त्यसैगरी देवस्थल परिसरमा रहेका मूर्ति, मिलापत्र तथा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सामग्रीको संरक्षण तथा सुरक्षालाई पनि प्राथमिकता राख्नुपर्ने उल्लेख छ। समितिले गुठी संस्थान ऐन, विनियम तथा प्रचलित कानुनअनुसार काम गर्ने र सम्बन्धित निकायबाट प्राप्त निर्देशनको पालना गर्ने व्यवस्था गरिएको छ। देवस्थल परिसरमा आयोजना हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमको तयारी र व्यवस्थापन गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ।

समितिले देवस्थलअन्तर्गत रहेका गुठीका जग्गा, भवन, बगैंचा लगायत सम्पूर्ण सम्पत्तिको संरक्षण तथा संवर्द्धन गर्ने व्यवस्था गरेको छ। गुठी सम्पत्ति तथा जग्गाजमिनको नियमित अनुगमन गरी अतिक्रमण, हानि-नोक्सानी हुन नदिने, अतिक्रमणमा परेका जग्गा सम्बन्धित निकायको सहयोगमा हटाउने तथा दर्ता हुन बाँकी गुठी जग्गालाई गुठीकै नाममा दर्ता गराउन आवश्यक समन्वय गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। अन्य निकायमार्फत निर्माण तथा उपयोग भएका गुठी सम्पत्ति तथा भवन संरचनालाई गुठी संस्थानमा हस्तान्तरण गर्न समन्वय गर्ने तथा गुठीको स्वीकृति र सहमतिबिना गुठी सम्पत्ति कसैलाई हस्तान्तरण नगर्ने व्यवस्था पनि गरिएको छ।

समिति गठन भई जिम्मेवारी पाएपछि समितिले गुठीको विकास तथा पूर्वाधार निर्माणमा स्थानीय समुदायको सहभागिता जुटाउने नीति पनि अघि सारिएको छ। देवस्थलको आवश्यक विकासका लागि स्थानीय समुदायको सहभागितामा काम गर्ने तथा संस्थाको स्वीकृति लिएर गुठी सम्पदाको मर्मत, सम्भार, जीर्णोद्धार तथा पुनर्निर्माण गर्ने व्यवस्था गरिएको छ। गुठी सम्पदाको मर्मत, सम्भार तथा पुनर्निर्माण पूरा भएपछि ९० दिनभित्र सम्बन्धित संस्थालाई हस्तान्तरण गर्ने व्यवस्था पनि जिम्मेवारी पनि छ। आवश्यकताअनुसार सरकारी बजेट तथा सम्बन्धित निकायको सहयोगबाट भौतिक संरचना निर्माण गर्न सकिने व्यवस्था समितिलाई दिइएको छ।

पत्रकार सम्मेलनमा समितिका सचिव टासी लामाले समितिमा स्वयंसेवी रुपमा काम गर्ने बताए। समितिका पदाधिकारीलाई पारिश्रमिक नदिइने, समितिलाई स्वयंसेवी संस्थाका रूपमा सञ्चालन गर्ने र कुनै पनि पदाधिकारीलाई पारिश्रमिक वा भत्ता प्रदान नगर्ने व्यवस्था गरिएको उनले जनाए। समितिका कोषाध्यक्ष शैलेन्द्र लामाले यसअघिको हिसाबकिताब वा कागजात नयाँ समितिलाई कुनै पनि प्राप्त नभएकाले यसअघिका हिसाबकिताब अनुमानमा सीमित रहेको जनाए। दैनिक दसौं हजार भेटी उठ्ने र वार्षिक सवा करोडभन्दा बढी बजेट यो यो क्षेत्र व्यवस्थापनमा रहेको अनुमान उनले गरे। यसअघिका एकलौटी जिम्मेवारी पाएका व्यक्ति भूपतिबज्र लामा पनि हालको समितिमा सदस्य रहेको तर उनी समितिको सम्पर्कमा नआएको उनले जनाए।

समितिको कार्यकाल गठन मितिदेखि परीक्षणकालसहित अधिकतम दुई वर्षको हुने तथा आवश्यक अवस्थामा संस्था/सम्बन्धित निकायको निर्देशनअनुसार समिति विघटन वा पुनर्गठन गर्न सकिने व्यवस्था गरिएको छ। कर्तव्य पालनामा बेवास्ता, आर्थिक अनियमिततालगायत अवस्था देखिए समितिलाई विघटन वा पुनर्गठन गर्न सकिने प्रावधानसमेत राखिएको छ। समितिका सदस्य तथा पदाधिकारीहरू संस्थागत रूपमा मात्र नभई व्यक्तिगत रूपमा समेत गुठीप्रति उत्तरदायी हुने व्यवस्था कार्यादेशमा उल्लेख छ। आवश्यकताअनुसार विभिन्न कामका लागि उपसमिति गठन गरी जिम्मेवारी तोक्न सकिने व्यवस्था पनि गरिएको छ। 

गुठीको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आर्थिक पारदर्शिता, सम्पत्ति संरक्षण, नियमित लेखापरीक्षण, सामूहिक निर्णय र जबाफदेहितालाई प्राथमिकता दिएर अघि बढ्ने नयाँ व्यवस्थापन प्रणालीले गुठी सञ्चालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। यससँगै श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी अब व्यक्ति वा सीमित व्यक्तिको निर्णयमा मात्र निर्भर नरही समिति, अभिलेख, आर्थिक अनुशासन र सामूहिक जिम्मेवारीमा आधारित संस्थागत व्यवस्थापनतर्फ अघि बढेको देखिएको छ।

प्रकाशित: ३० भाद्र २०८३ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App