जेनजी पुस्ताको आन्दोलनका क्रममा मृत्यु भएका इटहरी-१४ का मोहन सरदारकी श्रीमती प्रधानमन्त्री सुशीला कार्कीले जागिर लगाई दिने आशमा पर्खेर बसेकी छन् ।
प्रधानमन्त्री कार्कीले दुई साताअघि मृतक मोहनकी श्रीमतीसहित आन्दोलनका क्रममा मृत्यु भएका जेनजी पुस्ताका आफन्तलाई जागिर लगाई दिने आश्वासन दिएकाले गर्दा त्यही आशमा आफू रहेको बताइन ।
घर बनाउने मिस्त्रीको काम गर्दै आएका मोहनको जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २३ गते इटहरीमा मृत्यु भएको थियो । जेनजी पुस्ताको काठमाडौंमा भेला भएको र त्यो भेलामा झापाबाट जेनजी पुस्ताको अगुवा अञ्जु राईले लिएर गएकी थिइन् । त्यो भेलामा सकेर जेनजीकै अगुवाईमा प्रधानमन्त्री कार्कीसमक्ष जेनजी आन्दोलनको क्रममा मृत्यु भएका मृतकका परिवारसहित घाइतेका आफन्तलाई भेट गराइएको थियो ।
त्यही बेला प्रधानमन्त्री कार्कीले योग्यता अनुसारको जागिर लगाई दिने वचन दिएकी थिइन् ।
मञ्जुले प्रधानमन्त्रीले जागिर लगाई दिन्छु भनेकाले गर्दा अहिलेसम्म घरमै बसिरहेको बताइन् । ‘प्रधानमन्त्रीले जागिर लगाई दिनु भएन भने अनि विकल्प खोज्नु योजनामा छु,’ उनले भनिन् । मञ्जुका पाँच वर्षे आकृति र सात वर्षे आरवी छोरी छन् । उनी कुबेत दुई वर्ष बसेको र श्रीमानले मिस्त्री गरेर बचत गरेको केही पैसाले ऐलानी जग्गामा एउटा सानो बास बस्ने पक्की घर बनाएका छन् । हरेक दिन काम नगरिकन मञ्जुको घरमा चुल्हो बल्दैन् । त्यही भएर उनलाई काम अत्यावश्यक छ ।
उनका अनुसार प्रधानमन्त्रीले वचन पुरा नगरे यस क्षेत्रमा खुलेका उद्योगमा गएर काम माग्ने योजना छ । सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रमा साना तथा ठूला धेरै उद्योग छन् ।
उनलाई संघीय सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराई सकेको छ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेपनि रकम भने उपलब्ध गराइ सकेको छैन ।
प्रकाशित: ५ मंसिर २०८२ १६:५८ शुक्रबार





