नेपालमा हिमपहिरो र हिमताल फुट्ने घटना नयाँ होइनन्। हिमशृंखलाको देश भएकाले यहाँ प्राकृतिक रूपमै हिमताल कहिलेकाहीं फुट्ने गर्छन् तर विगत तीन दशकयता जलवायु परिवर्तनका कारण यस्ता घटनाको ‘फ्रिक्वेन्सी’ र क्षतिको आकार दुवै बढेको विज्ञहरूको विश्लेषण छ।
विगतमा न्यूनतम २० देखि ६० वर्षको फरकमा दोहोरिने यस्ता विपद् लगभग हरेक वर्षजसो दोहोरिन थालेका छन्।
विज्ञहरूका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा ग्लोबल वार्मिङको असर विश्वको औसतभन्दा बढी देखिएको छ, जसले हिमनदी तीव्र गतिमा पग्लन बाध्य पारेको छ। यसका कारण पुराना हिमतालको क्षेत्रफल बढ्दै गएको र नयाँ हिमताल बन्दै गएको विज्ञहरू बताउँछन्। अर्कातर्फ एकै ठाउँमा ठुलो वर्षा हुने कुनै ठाउँमा पानी नपर्ने जस्ता समस्या पनि देखिएका छन्।
नेपालका कोसी, गण्डकी र कर्णाली बेसिनमा दुई हजारभन्दा बढी हिमताल रहेकामा २१ वटा नेपालतर्फ र २५ वटा चीनतर्फ (जम्मा ४६ वटा) जुनसुकै बेला फुट्न सक्ने ‘अति उच्च जोखिम’ अर्थात् ‘टाइम बम’ का रूपमा वर्गीकृत छन्।
चीनतर्फका हिमतालबारे पूर्व सूचना नेपालले समयमै पाउन कठिन हुने भएकाले भोटेकोसी–सुनकोसी कोरिडोरमा बारम्बार बढी क्षति हुने गरेको छ। यसका लागि नेपाल र चीनबिच संयुक्त अनुगमन तथा वास्तविक समयको डेटा आदानप्रदान संयन्त्र आवश्यक रहेको विज्ञहरूको सुझाव छ।
साथै अति जोखिमयुक्त तालहरूमा सोलुखुम्बुको च्छोरोल्पा, इम्जा तालमा जस्तै प्रविधिको प्रयोग गरी पानीको सतह घटाउने, स्याटेलाइट र ड्रोनमार्फत निरन्तर निगरानी गर्ने, नदी किनारमा स्थायी संरचना वा बस्ती नबसाल्ने गरी कडा भू–उपयोग नीति लागू गर्ने र स्थानीय समुदायलाई लक्षित गरी विपद् पूर्व तयारी तालिम सञ्चालन गर्ने आवश्यकता औंल्याइएको छ।
यो पनि पढ्नुहोस्
घट्दै हिमताल फुट्ने समयान्तर, बढ्दै महाविपत्तिको डरप्रकाशित: १८ भाद्र २०८३ ११:३८ बिहीबार





