१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

इलाममा ट्रक दुर्घटना, एक जनाको मृत्यु

बेलिब्रिजको सामग्री बोकेको ट्रक बिहीबार इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी २९ बी २९४४ नम्बरको ट्रक बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना हुँदा सह-चालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३० वर्षीय रबिन बर्मुन र ट्रकमा सवार सिन्धुपाल्चोकको चौतारा नगरपालिका-३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका उनले बताए।

घाइते दुवै जनालाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। ट्रक अनियन्त्रित भई सडकको दाहिने साइडबाट अन्दाजी पाँच मिटर तल झरी दुर्घटना भएको प्रनाउ भण्डारीले बताए।

ट्रक इलामको तिल्केनी-सिमलगोलाई सडकअन्तर्गत इलाम नगरपालिका-१० र माईजोगमाई गाउँपालिका-४ जोड्ने जोगमाई खोलामा निर्माणाधीन बेलिब्रिजको सामग्री लिएर झापाबाट इलामतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८३ २०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App