नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालबाट यस वर्षको मनसुन बाहिरिसकेको छ। तर मनसुन बाहिरिएसँगै वर्षा रोकिने भने हुँदैन। कमजोर पश्चिमी वायुको प्रभावका कारण आगामी एक सातासम्म नेपालका धेरै स्थानमा बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
पोखरेलका अनुसार आगामी साता हुने वर्षा सामान्यतया हल्कादेखि मध्यम खालको हुनेछ। देशभर एकैपटक वा हरेक दिन सबै स्थानमा वर्षा नहुने भए पनि अधिकांश स्थानमा अपराह्नपछि वर्षा सुरु भएर साँझसम्म रहने सम्भावना छ।
उनले भोलिदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी भेगका धेरै स्थानमा वर्षाको क्रम तुलनात्मक रूपमा निरन्तर रहन सक्ने बताए। व्यापक रूपमा ठूलो वर्षा हुने संकेत नरहे पनि केही स्थानमा छोटो समयका लागि भारी वर्षा हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ।
'कमजोर पश्चिमी वायुको प्रभाव रहने देखिएकाले यो हप्ताभरि नेपालका धेरै ठाउँमा बादल लाग्ने र वर्षा हुने सम्भावना छ,' सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, 'वर्षा सामान्यतया हल्कादेखि मध्यम खालको हुनेछ। देशभर एकैपटक वा हरेक दिन सबै ठाउँमा पानी पर्ने होइन। अधिकांश स्थानमा वर्षा अपराह्नपछि सुरु भएर साँझसम्म रहने सम्भावना बढी छ।'
यो वर्षाको अवस्था विशेषगरी धान काट्ने तयारीमा रहेका किसान तथा पहाडी र हिमाली क्षेत्रमा हाइकिङ तथा ट्रेकिङमा जानेहरूका लागि महत्वपूर्ण हुने पोखरेलले बताए। दैनिक कामका लागि बाहिर निस्कँदा पनि आफ्नो जिल्लाको वर्षा पूर्वानुमान हेरेर आवश्यक तयारी गर्न उनले सुझाव दिए।
मनसुन बाहिरिएपछि किन भइरहेको छ वर्षा?
नेपालमा मनसुन बाहिरिए पनि वर्षा हुन सक्ने भएकाले अहिले भइरहेको वर्षालाई लिएर धेरैमा अन्योल हुन सक्ने पोखरेलको भनाइ छ।
उनका अनुसार मनसुनको आगमन वा बहिर्गमन वर्षा भयो वा भएन भन्ने आधारमा मात्र निर्धारण हुँदैन। यो मुख्यतः हावाको दिशा र वायुप्रवाहमा हुने मौसमी परिवर्तनका आधारमा निर्धारण हुन्छ। यससँगै वायुमण्डलमा रहेको जलवाष्पको मात्रा पनि वर्षाका लागि महत्वपूर्ण हुन्छ।
नेपालमा वर्षा हुन मनसुन नै आवश्यक नहुने उनले स्पष्ट पारेका छन्। हिजोअस्तिदेखि सुरु भएको वर्षा घटस्थापनाको अघिल्लो दिनसम्म जारी रहने देखिएको र यो वर्षा पश्चिमी वायुको प्रभावका कारण भइरहेको उनले बताएका छन्।
हिजो पनि देशका विभिन्न स्थानमा वर्षा भएको र अहिले झापालगायत केही स्थानमा पानी परिरहेको उनले जानकारी दिएका छन्।
पोखरामा पछिल्लो ६ घण्टामा ३२.६ मिलिमिटर वर्षा
पछिल्लो ६ घण्टामा पोखराको मालेपाटनमा सबैभन्दा धेरै ३२.६ मिलिमिटर वर्षा भएको छ। मौसम विज्ञान विभागका अनुसार उक्त वर्षा मध्यम खालको हो।
१७ असोज गते राति १०ः४५ बजेसम्म बागमती र कोशी प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागका अनुसार पछिल्लो ६ घण्टामा मालेपाटनमा मापन भएको ३२.६ मिलिमिटर वर्षा सो अवधिको देशभरकै सबैभन्दा बढी वर्षा हो।
प्रकाशित: १८ आश्विन २०८३ ०८:०५ आइतबार


-600x400.jpg)


