भेरीगंगा नगरपालिका–५ को गिद्धेडाँडालाई संघीय सरकारले नेपालकै १०० घुम्नैपर्ने पर्यटकीय क्षेत्रभित्र राख्यो । पर्यटकीय पूर्वाधारका लागि २०७५/०७५ मा ५० लाख रुपैयाँ छुट्यायो । स्थानीयले त्यो रकमबाट धर्मशाला र पदमार्ग निर्माण गरे । त्यसपछि संघीय सरकार मात्रै होइन् प्रदेश र स्थानीय सरकारको नजरमा यो पर्यटकीय केन्द्र पर्न सकेन् ।
रत्न राजमार्ग छोडेर कालिदमार हुँदै लेक हात्तीखालसम्म गाडीमा यात्रा गर्न सकिन्छ । त्यहाँबाट झण्डै एक हजार सिढी चढेपछि गिद्धेडाँडा पुगिन्छ । डाँडामा शिद्धवावाको मन्दिर छ । नजिकै अधुरो रहेको धर्मशाला छ । बाटैभरी गुराँस र काँफलका रुखहरु छन् । मन्दिरमाथि खुकुरी पहाड छ । जहाँबाट एकैपटक बाँके–बर्दियाका फाँट र सिस्ने हिमालसम्मको अवलोकन गर्न मिल्छ ।
स्थानीयका अनुसार नेपालकै १०० पर्यटकीय गन्तव्यभित्र परेपनि गिद्धडाँडा पूर्वाधार र प्रचार–प्रसारको अभावमा ओझेलमा छ । ‘सरकारले १०० पर्यटकीय गन्तव्यभित्र राखेपनि पूर्वाधार निर्माणका लागि बजेट नदिँदा र यो ठाउँको महत्व र सुन्दरताका बारेमा प्रचार नहुँदा ओझेलमा परेको छ,’ स्थानीय राधा रावतले भनिन्, ‘प्रदेश राजधानी वीरेन्द्रनगरका साथै तराईका जिल्लाबाट सकैभन्दा नजिकको पर्यटकीय गन्तब्यको विकासका लागि पूर्वाधार र प्रचार–प्रसारको खाँचो छ ।’

चुरे क्षेत्रमा पर्ने गिद्धेडाँडा, मन्दिर र खुकुरी पहाडका आ–आफ्नै महत्व छन् । गिद्धको बासस्थान भएकाले यो ठाउँलाई गिद्धेडाँडा भन्ने गरिएको स्थानीयको भनाई छ । ‘डाँडादेखि पूर्वतर्फको बर्दिया राष्ट्रिय निकुञ्जको प्रभावित क्षेत्रमा बाह्रै महिना गिद्ध देख्न पाइन्छ । शिद्धवावाको मन्दिरमा वर्षमा दुई पटक मेला लाग्छ । सल्यानको कालिमाटी गाउँपालिकासँग सीमा जोडिएकाले मेलामा दुबै जिल्लामा मानिसहरु भेला हुन्छन् ।
बीचमा सानो बाटो र दुबैतर्फ भिरालो क्षेत्र भएकाले मन्दिरमाथिको पहाडलाई ‘खुकुरी’ पहाड भनिन्छ । ‘गर्मीयाममा यहाँ सल्यान र सुर्खेतका नजिकका गाउँका मानिसहरु आउँछन्,’ वडाध्यक्ष प्रेमबहादुर सारुले भने, ‘गिद्देडाँडा, यहाँको धार्मिक र बन्चरे पहाडको महत्वको प्रचार–प्रसार भए यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउँथे, गाउँलेहरुको आयआर्जनमा पनि टेवा पुग्थ्यो ।’
गाउँको नजिकको प्रमुख बजार भेरीगंगाको छिन्चु हो । त्यहाँसम्म पुग्नलाई राम्रो सडक छैन । तल्लो हात्तीखाल, माथिल्लो हात्तीखाल र कालीदमार अर्गानिक गाउँ हुन् । यहाँको अदुवा र बेसार युरोप निर्यात हुन्छ । अर्गानिक अन्न र तरकारीको भण्डार भएपनि सडक पूर्वाधार नहुँदा बजारसम्म पुर्याउन समस्या छ । यहाँका अधिकांस पुरुषहरु रोजगारीका लागि कालापहाड जान्छन् ।
‘बर्खामा यहाँ यातायातका साधन चल्दैनन्, उब्जाएको तरकारी पनि बजारसम्म पुर्याउन सकिँदैन्,’ वडाध्यक्ष सारुले भने, ‘सडक पूर्वाधार राम्रो भइदिए यहाँका स्थानीयको जिवनस्तर बदलिन्थ्यो, कालापहाड जानुपर्ने बाध्यता हट्थ्यो, पर्यटकीय क्षेत्रमा पनि मानिसहरुको चहलपहल हुन्थ्यो ।’
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल स्थानीय सरकारको एकल प्रयासले मात्रै यहाँको पर्यटन विकास र पूर्वाधार निर्माण संभव नभएको बताउँछन् । ‘यो पटक संघीय सरकारबाट सडक पूर्वाधारका प्रयाप्त बजेट आएको थियो, एउटा प्याकेजको त ठेक्का पनि लागिसकेको थियो,’ उनले भने, ‘जेनजी आन्दोलनपछि नयाँ सरकार बन्यो, सबै बजेट रोकियो ।’ उनले गाउँमा विकास पुर्याउने र सरकारको १०० पर्ययटकीय गन्तव्यभित्र समावेश भएकाले संघीय सरकारले बजेट रोक्न नहुने बताए ।

उनले पालिकाकातर्फबाट आगामी आर्थिक वर्षको बजेटमा गिद्धेडाँडाको पर्यटकीय पूर्वाधारमा आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । ‘गिद्धेडाँडा नगरको गौरव गर्न लायक पर्यटकीय गन्तब्य हो, गिद्धको प्राकृतिक बासस्थान, उत्तरतर्फका हिमश्रृंखला र दक्षिणतर्फ दाङ, बाँके, बर्दिया, कैलालीसम्मका भू–भाग सहजै अवलोकन गर्न सकिने ठाउँ पनि हो,’ उनले भने, ‘संघीय सरकारले सडक पूर्वाधार बनाए पर्यटकीय पूर्वाधार प्रदेश सरकारसँग समन्वय गरेर हामी बनाउँछौं ।’
रत्न राजमार्ग छोडेपछि १४ किलोमिटरको पूरीमा लेक हात्तीखाल पुगिन्छ । त्यहाँबाट एक हजार सिढीँ चढेपछि गिद्धेडाँडा पुग्न सकिन्छ । उनले आगामी आर्थिक वर्षमा अधुरो धर्मशाला निर्माण सम्पन्न गर्नुका साथै बन्चरे पहाडमा सहज हिँड्न मिल्ने गरेर रेलिङहरु राखिने बताए । खासमा गिद्धेडाँडा हाट–भोट गर्ने मुख्य नाका थियो । सल्यान, सुर्खेत, दैलेख, जुम्लालगायतका स्थानीयहरु नेपालगञ्ज र भारतको रुपैडिहामा जानेहरुका लागि यो बिसाउने चौतारी थियो । अग्लो पहाडमा खानेपानीको मुहान भएकाले पनि यसको महत्व धेरै थियो । हटारुले यहाँ खाना पकाएर खान्थे, रुखका फेदीहरुमा बास बस्थे ।
‘उति बेला सडक नहुँदा तराई जाने छोटो गोरेटो बाटो यहीँ थियो, यहीँबाट बबई झरेर तराईतिर मानिसहरु जान्थे, तराईबाट सामानहरु ल्याएर पहाड उक्लिने मुख्य ‘गौडा’ यहीँ हो,’ उनले भने, ‘त्यसैले पनि गिद्धेडाँडाको महत्व धेरै छ, यहाँको भौतिक पूर्वाधार र प्रचार–प्रसारमा नगरपालिकाले चिन्ता र चासो राखेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ठाडाले यहाँको पर्यटकीय पूर्वाधार निर्माणका लागि आफूहरु संघीय सरकारको भरमा पर्दा समस्या भएको बताए । ‘सरकारले नेपालका १०० पर्यटकीय गन्तब्यभित्र समावेश गरेपछि सोही अनुसार बजेट पनि आउला भन्ने भयो,’ उनले भने, ‘एक आर्थिक वर्ष मात्रै बजेट आयो, त्यसपछि आउन छोड्यो, डीपीआर अनुसारका कामहरु अघि बढ्न सकेनन् ।’ उनले आगामी आर्थिक वर्षदेखि नगरपालिका आफैले पर्यटकीय पूर्वाधार निर्माण गर्ने बताए ।
गिद्धेडाँडामा महासंघको बैठक
नेपालका १०० पर्यटकीय गन्तब्यमा सुचिकृत गिद्धेडाँडामा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले बैठकको आयोजना गरेको छ । भेरीगंगा नगरपालिकासँगको सहकार्यमा पर्यटकीय क्षेत्र गिद्धेडाँडामा बैठकको आयोजना गरिएको अध्यक्ष सुशीलराज शर्माले जानकारी दिए । ‘पत्रकारितामा माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले डिद्ध्डाँडामा बैठकको आयोजना गरिएको हो,’ उनले भने, ‘पत्रकार आफै पुग्दा त्यहाँ देखेको भोगेको कुराहरु आम नागरिकसम्म पुग्ने भएकाले बैठक राखेका हौं ।’
महासंघले पाँच बुँदे गिद्धेडाँडा घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा सञ्चार कानुन बनाउन, कालीदमारदेखि लेक हात्तीखालसम्मको सडक स्तरोन्नति गर्न, पर्यटकीय क्षेत्रमा पानी, विजुलीलगायतका आधारभूत पूर्वाधारको विकास गर्न उल्लेख गरिएको छ ।
प्रकाशित: १८ पुस २०८२ १९:५३ शुक्रबार





