राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वएआइजी सदस्य विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालय पुगेका बेला त्यहाँका प्रधानाध्यापकले औपचारिक स्वागत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडियोमा उनले आफू जनप्रतिनिधि भएको हैसियतले सम्मान पाउनुपर्ने आशय प्रकट गरेको देखिन्छ। उक्त भिडियोमा सम्मान नगरेको भन्दै खेद प्रस्ताव पारित गर्नसमेत भनेको सुनिन्छ। यो दृश्य सामाजिक सञ्जालमा तीव्र गतिमा फैलियो। यसको आलोचना भयो। धेरैले यसलाई ‘अहंकार’ भने। दबाब यति बढ्यो कि रिसाएर ‘आगो बनेका’ पोखरेलले आफ्नो नियत त्यस्तो नभएको तर ‘कसैको मन दुखेको भए माफी माग्छु’ भन्दै ‘पानी’ बने। उनले भिडियो पूर्ण सन्दर्भमा नभएको दाबी गर्दै आफ्नो बचाउ गरे।
यता विद्यालयका प्रधानाध्यापकले भने आफू स्वागतको तयारीमै रहेको तर सूचना अभावले भेटघाटमा ढिलाइ भएको बताए। सामाजिक सञ्जालमा धेरैले उनको समर्थन गर्दै पोखरेलको ‘मान खोज्ने संस्कार’माथि प्रश्न उठाए। तर प्रश्न यतिमै सीमित छैन। यो घटना नेपाली राजनीति र समाजमा गहिरो जरा गाडेको ‘मान–अपमान’ को मनोविज्ञानको एउटा झल्को मात्र हो। नेपालको राजनीतिक इतिहासमा ‘मान–अपमान’का प्रसंग नयाँ होइनन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक पटक सार्वजनिक कार्यक्रममा आफूलाई बस्ने कुर्सी नमिलाइदिँदा ‘अपमान भएको’ अनुभूति व्यक्त गरेका थिए। त्यो सानो व्यवस्थापकीय कमजोरी राजनीतिक सम्मानको प्रश्नमा रूपान्तरित भयो। यो सँगै ‘अपमान’ शब्द निकै लामो समयसम्म घोचपेचको माध्यम बन्यो।
त्यसअघि पनि विभिन्न दलका नेताहरूले प्रोटोकल, आसन व्यवस्था, स्वागत–सम्मानका विषयमा असन्तुष्टि जनाउँदै कार्यक्रम बहिष्कार गरेका उदाहरण छन्। कसैलाई मञ्चमा अगाडि नराखिएको, कसैलाई स्वागत मन्तव्यमा नाम छुटेकोलगायत कुराहरूले राजनीतिक सम्बन्धमै दरार ल्याएका घटनाहरू प्रशस्तै छन्। को अगाडि बोल्ने भन्ने विषय पनि मान–सम्मानसँग जोडिन थाल्यो। अपमान भयो भन्दै मञ्च छाड्ने त कति देखिए कति।
किन यस्तो हुन्छ ?
राजनीतिमा ‘मान’ केवल व्यक्तिगत भावनाको विषय मात्र होइन, यो शक्ति र पहिचानको संकेत पनि रहेको कतिपयको बुझाइ छ। कसलाई कहाँ बसाइयो, कसलाई कसरी सम्बोधन गरियो, यी सबैले शक्ति सन्तुलन झल्काउने उनीहरू सुनाउँछन्। त्यसैले ‘मान’को विषय प्राय: ‘अहंकार’ भन्दा पनि ‘स्थान’ र ‘प्रभाव’को सूचक बन्ने उनीहरूको बुझाइ छ। नेपाली समाज परम्परागत रूपमा श्रेणी, उमेर, पद र हैसियतमा आधारित छ। बाबुआमालाई सम्मान, जेठाजुलाई आदर, पाहुनालाई सत्कार, यी सबै हाम्रा संस्कार हुन्। ‘मान दिनु’ यहाँ संस्कार हो तर ‘मान माग्नु’ कहिलेकाहीँ विवादको कारण बन्छ। ओखलढुंगाको विद्यालयको घटनामा पनि यही द्वन्द्व देखिन्छ। एकातिर जनप्रतिनिधिको हैसियतले सम्मान अपेक्षा, अर्कोतिर संस्थागत स्वायत्तता र समानताको आग्रह।
धर्मग्रन्थहरूमा मान–अपमान
हिन्दु दर्शनमा ‘मान’ र ‘अपमान’लाई गहिरो आध्यात्मिक सन्दर्भमा हेरिएको छ। भागवत् गीतामा भगवान् कृष्णले अर्जुनलाई ‘मान–अपमान, सुख–दु:खमा समभाव राख्न’ उपदेश दिन्छन्। गीताअनुसार जो व्यक्ति प्रशंसा र निन्दा दुवैमा स्थिर रहन्छ, ऊ नै ‘स्थितप्रज्ञ’ हो। त्यसैगरी उपनिषद्हरूमा पनि बाह्य सम्मानभन्दा आत्मज्ञानलाई उच्च मानिएको छ। ‘मानको खोज बाहिर होइन, भित्र हो’ भन्ने भाव त्यहाँ पाइन्छ। बुद्धको शिक्षामा त झन् स्पष्ट रूपमा भनिएको छ, ‘अपमानलाई प्रतिक्रिया नदिने व्यक्ति नै सच्चा बलियो हुन्छ।’ बुद्धका अनुसार अरूले दिएको अपमान हामीले स्वीकार नगरेसम्म त्यो हाम्रो हुँदैन। बुद्धले एक पटक अपशब्द सुनेर पनि शान्त रहँदा भनेका थिए, ‘कसैले उपहार दियो र मैले स्वीकार गरिनँ भने त्यो कसको हुन्छ ?’ मान–अपमान बाहिरीभन्दा आन्तरिक अवस्था हो।
मनोविज्ञानले मान खोज्ने व्यवहारलाई मानवको आधारभूत आवश्यकता भन्छ। हरेक मानिस आफूलाई महत्वपूर्ण महसुस गर्न चाहन्छ। जब कसैबाट सम्मान पाउनेको आत्मसम्मान बढ्छ। समाजमा हाम्रो स्थान के हो भन्ने कुरा अरूले कसरी व्यवहार गर्छन् भन्नेबाट पनि तय हुन्छ। त्यसैले ‘मान’ सामाजिक स्वीकृतिको सूचक बन्छ। ‘कहिलेकाहीं धेरै मान खोज्ने मानिस भित्रबाट असुरक्षित हुन्छन्,’ मनोसामाजिक परामर्शदाता डा. नम्रता पाण्डे भन्छिन्, ‘उनीहरू बाह्य सम्मानबाट आफ्नो मूल्य पुष्टि गर्न खोज्छन्।’ राजनीति वा नेतृत्वमा रहेका व्यक्तिहरूका लागि ‘मान’ शक्ति प्रदर्शनको माध्यम पनि हुन सक्ने उनले बताइन्। ‘मान खोज्नु स्वाभाविक हो तर जब त्यो अधिकारको रूपमा मागिन्छ, त्यहाँ समस्या सुरु हुन्छ,’ उनी भन्छिन्।
पहिले ‘मान’ सीमित घेरामा थियो– घर, गाउँ, कार्यालय। अहिले सामाजिक सञ्जालले यसलाई सार्वजनिक बनाइदिएको छ। कसले कसलाई स्वागत गर्यो ? सबै कुरा तुरुन्त सार्वजनिक हुन्छ।
पोखरेलको भिडियो पनि यही कारण भाइरल भयो। एउटा सानो संवाद राष्ट्रिय बहस बन्यो। सामाजिक सञ्जालले ‘मान’लाई अब व्यक्तिगत नभएर सार्वजनिक प्रदर्शन बनाइदिएको छ। पोखरेलको घटनामा पनि दुई धार देखिए। उनको समर्थन गर्नेले भने– बाजागाजासहित माननीय आएको सुनिँदैन भन्ने पाइन्छ। जनप्रतिनिधिलाई सम्मान दिनुपर्छ। पदअनुसार प्रोटोकल हुनु स्वाभाविक हो। भिडियो अपूर्ण सन्दर्भमा फैलिएको छ।
त्यस्तै पोखरेलको आलोचना गर्नेले भने, ‘सम्मान मागेर होइन, कामले पाउनुपर्छ। विद्यालय जस्तो संस्थामा सबै बराबर हुन्। यस्तो व्यवहार अहंकारको संकेत हो। समग्रमा नयाँ पुस्ताले पदभन्दा व्यवहारलाई महत्व दिन थालेको छ। उनीहरूका लागि ‘माननीय’ हुनुभन्दा ‘मानयोग्य’ हुनु महत्वपूर्ण बन्दै छ। ओखलढुंगाको त्यो घटना केवल एक व्यक्ति वा एक विद्यालयको कथा होइन। यो हाम्रो समाजको गहिरो मनोविज्ञानको प्रतिविम्ब हो। मानव स्वभावले मान खोज्छ। यो स्वाभाविक हो तर प्रश्न के हो भने के मान मागेर पाइन्छ कि काम र व्यवहारबाट कमाउनुपर्छ ? ‘साँचो सम्मान त्यो हो, जुन अरूले बाध्य भएर होइन, स्वेच्छाले दिन्छन्,’ नम्रता पाण्डेय थप्छिन्, ‘जबरजस्ती सम्मान माग्नु मूर्खता हो।’
प्रकाशित: १५ वैशाख २०८३ १२:११ मंगलबार





