८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

नेपालमा कहिले हुन्छ वर्षा?

नेपालका अधिकांश भूभागमा वर्षा नभएको तीन महिना नाघि सकेको छ । गत असोजको अन्तिम साता मनसुनी प्रणाली बाहिरिएसँगै नेपालमा पानी परेको छैन । गतसाता ताप्लेजुङको उच्चहिमाली क्षेत्रमा फाट्टफुट्ट वर्षा भएपनि अन्य स्थानमा भने पानी परेको छैन । यसका कारण वायु प्रदूषण बढ्दै गएको छ भने हिउँदे बालीमा समेत गम्भीर असर पर्दै गएको छ । वर्षा हुने वायु प्रणालीको विकास नहुँदा यो वर्ष पानीमात्र हैन पर्याप्त हिउँसमेत पर्न सकेको छैन ।  

तर भोलि शुक्रबारदेखि भने नेपालको पश्चिमी क्षेत्रबाट वर्षा गराउने वायु प्रणालीको विकास हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार दिउँसो सुदूरपश्चिमी क्षेत्रबाट प्रवेश गर्ने उक्त मौसमी प्रणालीले सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागको भनाइ छ ।  

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मध्यम वर्षा हुने बताउँदै यो क्रम शनिवार दिउँसोसम्मै कायम रहेने जानकारी दिए । ठुलो पानी र झरी नपर्ने बताउँदै उनले सुदूरपश्चिमबाट प्रवेश गरेको मौसमी प्रणाली विस्तारै कर्णाली, लुम्बिनी, गण्डकी हुँदै बागमती प्रदेशसम्म आइपुग्ने जानकारी दिए । कोशी प्रदेशका पहाडी क्षेत्रमा मौसममा सामान्य बद्ली हुने भएपनि वर्षाको सम्भावना भन अत्यन्तै न्यून रहेको उनको भनाइ छ । यो मौसमी प्रणालीले मधेश प्रदेशमा भने कुनै प्रभाव पर्नेछैन । वरिष्ठ मौसमविद् पौडेलले शनिबार साँझदेखि मौसममा सुधार आउने बताए ।  

पौडेलका अनुसार मंगलबारदेखि नेपालमा पुनः अर्को मौसमी प्रणाली भित्रने हुनाले बुधबारसम्म हल्का वर्षको सम्भावना रहेको छ । उच्च हिमाली भूभागमा मध्यमखालको हिमपात हुने जानकारी दिँदै वरिष्ठ मौसमविद् पौडेलले सो समयमा पनि ठूलो झरीको सम्भावना भने नरहेको बताए ।  

मौसममा आएको बद्ली र सामान्य वर्षाले सुख्खा र वायुप्रदूषण नियन्त्रणमा सहयोग पुग्ने भएपनि चिसो भने बढ्ने देखिएको छ । 

प्रकाशित: ८ माघ २०८२ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App