त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको घटनामा परी गम्भीर घाइते भएका गणेश नेपालीको थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (एम्स) लैजान चिकित्सकहरूले सुझाव दिएका छन्।
वीर अस्पतालमा उनको उपचारमा संलग्न डा. अपार लामिछानेले बिरामीको अवस्था र उपचारको चुनौतीबारे जानकारी दिँदै भारत लैजान आवश्यक रहेको बताएका हुन्। डा. लामिछानेका अनुसार बिरामीको शरीरको ६५ प्रतिशत भाग जलेको छ। गम्भीर प्रकृतिको जलन भएकाले नेपालमा उपलब्ध नभएको विशिष्टिकृत उपचार र छालाको व्यवस्थापनका लागि उनलाई दिल्ली पठाउन सल्लाह दिइएको हो।
यद्यपि, बिरामीलाई दिल्ली पठाउने विषयमा अन्तिम निर्णय भने हुन बाँकी रहेको उनले बताए।
प्रधानमन्त्री बालेन्द्र शाहले पनि घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उपचार प्रक्रियालाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए। उनीहरूले अस्पतालको चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थितिबारे प्रत्यक्ष परामर्श गरेका थिए।
सो अवसरमा उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन अस्पताल प्रशासन र सम्बद्ध निकायलाई निर्देशन दिए। सरकारले यसअघि नै घाइते नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने घोषणा गरिसकेको छ।
यो पनि पढ्नुहोस्
कृषि पढेर पनि पठाओ चलाउन बाध्य थिए गणेश, महानगरले रोजीरोटि खोस्दा छर्किए पेट्रोल
यो पनि पढ्नुहोस्
महानगर प्रहरी प्रमुख भन्छन्- १ हजार जरिवानाकै लागि आ*त्मदा’ह हुनु नपर्ने, अन्य कारण पनि हुन सक्छन्
प्रकाशित: २६ असार २०८३ ०७:२५ शुक्रबार



-600x400.jpg)

