१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सद्भाव कायम गर्न सांसदहरूको अपिल

राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसदहरूले देशमा सामाजिक सद्भाव कायम गरी धार्मिक तथा जातीय एकतामा जोड दिन अपिल गरेका छन्।

सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको घटनाले धार्मिक द्वन्द्वले समाजको सद्भाव बिथोल्ने हुँदा देश एकतामा सबैले हातेमालो गर्नुपर्ने बताए। उनले सरकारले तत्काल सुनसरीको घटनाको समाधान खोज्नसमेत आग्रह गरे।

सांसद पूजा चौधरीले देशमा हिन्दू, मस्लिम, सिख, बुद्ध, इसाईलगायत सबै धर्म आस्थाले एकबद्ध रहेको बताइन्। नेपालमा सबै जात, समुदाय, धर्मको भाइचारा सम्बन्ध रहेको बताउँदै यो एकतालाई कायम राख्नुपर्नेमा जोड दिइन्।

सांसद जयन्तीदेवी राईले साउन ११ गते आइतबार डिजेबाजा र धार्मिक झण्डाका विषयमा उठेको स्थानीयबीच विवादको उठान गरिन्। उनले दङ्ग सुरु हुनपूर्व नै सरकारले समाधानको बाटो रोज्नुपर्ने बताइन्।

सांसद रोश्नी मेचेले सरकारले संवेदनशील भएर सुनसरीको घटनाको समाधान बेलैमा गर्नुपर्ने बताइन्। ‘यो देश निर्माण हामी सबै जातजाति मिलेर निर्माण गरेको हो’, उनले भनिन्, ‘पीडित परिवारलाई पूर्ण न्याय र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ।’

सांसद तुलप्रसाद विश्वकर्माले सम्पूर्ण देशवासीलाई संयमित रहन, जातिय, धार्मिक हिंसा भड्काउने कुरामा सहभागी नहुन र देशलाई शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गरे।

सुनसरीबाट सुरु भएको साम्प्रदायिक द्वन्द्व फैलिन नदिन सरकारले बेलैमा कदम चाल्नुपर्ने सुझाव दिए।

प्रकाशित: १५ श्रावण २०८३ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App