मुगु जिल्ला सोरु गाउँपालिका-१ स्थायी घर भई हाल भक्तपुरको कमलबिनायकमा बस्दै आएका २५ वर्षीय युवक गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे।
उनको शरीरको ६५ प्रतिशतभन्दा बढी भाग जलेको र घाँटी तथा छातीमा गहिरो चोट लागेको वीर अस्पताल आकस्मिक कक्षका चिकित्सकले जानकारी दिएका छन्। उनको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। 'घाँटी तथा छातीको भाग गहिरो जलेकाले उनलाई श्वास फेर्न गाह्रो भइरहेको छ,' एक चिकित्सकले भने।
घटना विवरणअनुसार नेपालीलाई वीर अस्पताल पुर्याएपछि अस्पताल प्रहरीले उनलाई खबर गरेको थियो। अस्पताल पुग्नेबित्तिकै भाइ गणेशलाई भेटेको दाजु मदनले बताए। 'अलि-अलि बोल्न सक्ने अवस्थामा थिए। आउने बित्तिकै दुई/चार शब्द बोले। सो क्रममा गणेशले महानगर प्रहरीले मोटरसाइकल लक गरिदिएपछि आफैं आगो लगाएको बताए,' मदनले भने। योबाहेक गणेश थप बोल्न नसकेको मदनले जानकारी दिए। 'महानगर प्रहरीले मोटरसाइकल लक गरिदियो, त्यसपछि पेट्रोल खन्याएँ,' मदनले सुनाए।
घटनाको विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले महानगरले मोटरसाइकल लक गरिदिएपछि आवेशमा आएर आत्मदाहको प्रयास गरेको बताए। प्रवक्ता काफ्लेका अनुसार बिहीबार दिउँसो करिब १:४५ बजे नेपाली वाग्मती प्रदेश ०२-०६४ प ३२५० नम्बरको मोटरसाइकल लिएर राहदानी विभाग पुगेका थिए। विभागको ३ नम्बर गेट अगाडि मोटरसाइकल पार्क गरेको केही मिनेटमै महानगरको नगरप्रहरी टोली भ्यानसहित त्यहाँ पुगेर ह्वील लक गरिदिएको थियो। आफ्नो मोटरसाइकल महानगरको गाडीमा राख्न लाग्दा नेपालीले नलैजान निकै हारगुहार गरेका थिए।
जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार राहदानी विभाग अघि पुगेका गणेशले केही क्षण अनाधिकृत ठाउँमा पार्किङ गरेको पाइएको भन्दै ह्वील लक गर्ने महानगर प्रहरीसँग उनको भनाभन भएको थियो। भनाभनपछि उनले आत्मदाहको प्रयास गरेका हुन्। घटनालगत्तै राहदानी क्षेत्रमा रहेका प्रहरीले उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएका थिए।
प्रत्यक्षदर्शीबाट जानकारी पाएका राहदानी विभागका कर्मचारीका अनुसार लक गरेकै कारण नेपालीले आत्मदाह प्रयास गरेका हुन्। घटनापछि महानगर प्रहरीले गाडीमा राखेको मोटरसाइकल निकालेर राहदानी विभागभित्र राखिदिएको छ। 'मोटरसाइकलको चाबी लक नै रहेको जानकारी पाएका छौं,' राहदानी विभागका एक कर्मचारीले भने।
वीर अस्पताल वर्न उपचार विभागका इन्चार्ज डा. पियुष दाहालका अनुसार परियारलाई बिहीबार साँझ नै वर्न वार्डको आइसियुमा भेन्टिलेटर जडान गरेर उपचार भइरहेको छ। उनको श्वास-प्रश्वासको भागमा पनि जलको असर परेकाले तत्कालै श्वास बिग्रिन नदिन भेन्टिलेटरमा राखिएको हो। 'उनको श्वासनलीमा असर परेको आकस्मिक कक्षमै थाहा भएपछि तत्कालै भेन्टिलेटरमा राख्नु परेको हो,' उनले भने। हालको वर्न वार्ड सुविधासम्पन्न रहेकाले सक्दो प्रयासमा उपचार भइरहेको डाक्टर दाहालले बताए। उनले भने, 'अहिल्यै केही भन्ने अवस्था छैन, गहिरो जलेको छ, हामी सबै शक्ति लगाएर उपचार गरिरहेका छौं।' उनलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ।
जेटिए पढेका थिए, जागिर नपाएपछि पठाओ चलाउँथे
परिवारका कान्छा छोराका रूपमा रहेका गणेश र दाजु मदनलाई बुवाआमाले एसएलसी माथिको अध्ययन राजधानीमा राखेर पढाएका थिए। पिताले सिलाइको काम गरेर उनीहरूलाई पढाएका थिए। पाँच वर्ष अघि पिताले आँखा देख्न छोडेपछि परिवारमा सिलाइ पेसा बन्द भएको थियो। यही सिलाइको भरमा दुई भाइलाई प्राविधिक विषयमा १२ कक्षा सम्मको अध्ययन पूरा गराएका थिए। बुवाको पेसा बन्द भएपछि मदन र गणेश दुवैको थप अध्ययन गर्ने आधार बन्द भयो।
त्यसपछि दुई भाइले विभिन्न अस्थायी कामहरू खोज्दै सरकारी जागिर खाने अठोट गरे। गणेशले दुई/तीन पटक लोकसेवाको परीक्षा दिए, नाम निस्केन। यही क्रममा चार वर्ष अघि गणेशले विवाह गरे। घरमा उनकी श्रीमती र एक छोरी छन्। जागिरमा सफलता हात नपरेपछि उनले जीविकाका लागि तीन वर्षदेखि पठाओ चलाइरहेका थिए। दाजु मदनको परिवार र आफू भक्तपुरमा दुईवटा कोठा लिएर बस्दै आएका थिए। सरकारी जागिर खाने सपनाकै कारण दाजु मदनले दर्जनौं पटक लोकसेवाको परीक्षा दिइसकेको बताए। नेपालमा जागिर नपाएपछि केही समयदेखि दाइ मदनलाई अबको यात्रा विदेशतिर जानुपर्छ भनेका थिए।
मदन परिवारमा झगडा गर्ने, आवेशमा आउने स्वभावका थिएनन्। बरु शालिन स्वभावका थिए। 'बरु म आवेगमा आइहाल्थें, भाइ थिएन,' उनले नागरिकसँग भने। तर गणेश अन्तरमुखी स्वभावका थिए। सामान्य विषयमा ठूलो घटना बनाउने महानगर प्रहरीलाई उचित कारबाही हुनुपर्ने मदनले माग गरेका छन्। 'भाइको पठाओ बाहेक हाम्रो कुनै विकल्प थिएन, अब म र भाइकी छोरीलाई पनि महानगर प्रहरीले मार्नुपर्छ, हाम्रो सबै सकियो,' उनले बिहीबार साँझ रुँदै भने।
सदाझैं बिहान ५ बजे निस्केका थिए
विगत दुई वर्षदेखि गणेशको नियमित आम्दानीको स्रोत पठाओ बाइक चलाउनु थियो। बिहानै सबेरै निस्कन्थे, साँझ समयमै घर फर्किन्थे। कहिले पाँच बजे, कहिले बिहान ७ बजे निस्कन्थे। सदाझैं बिहीबार बिहान पनि उनी बिहान ५ बजे घरबाट बाइक लिएर निस्केका थिए। निस्कनु अघि भाउजू विपनालाई खसीको खुट्टा र सिमीको झोल तरकारी पकाउनु भनेका थिए। दिउँसो कहिलेकाहीं घरमा खाना खान पुग्थे। उनी खाना खान आउलान् भनेर दाजु मदनले फोन गरे। तर उनको फोन लागेन। एकैपटक प्रहरीको फोन पुग्यो।
प्रकाशित: २५ असार २०८३ १६:३९ बिहीबार





