मौसमविद् उज्वल उपाध्यायले आगामी ६ दिन नेपालको मौसम अनुकूल रहने देखिएको बताएका छन्। उनले देशभर वर्षाको सम्भावना न्यून हुँदै गएको र अधिकांश स्थानमा दिनभर घाम लाग्ने सम्भावना रहेको बताए।
आज आगामी ६ दिनको मौसमबारे बताउँदै उपाध्यायले तराईमा वर्षाको सम्भावना नरहेको र पहाड तथा हिमालका अधिकांश क्षेत्रमा पनि वर्षा वा हिमपात हुने नदेखिएको बताएका हुन्।
उनले किसानलाई धान तथा अन्य बाली काट्न सुरु गर्न सुझाव दिएका छन्।
'आज सोमबार असोज २६ गते आगामी ६ दिनको मौसम हेर्दा धेरै राम्रो देखिन्छ। मुलुकभरि अब वर्षाको सम्भावना न्यून हुँदै गएको र बिहान घाम उदाएदेखि नअस्ताउँदासम्म बादल नदेखिने अवस्था छ,' उनले भनेका छन्, 'तराईमा वर्षाको सम्भावना शून्य छ भने पहाड र हिमालको पनि अधिकांश भेगमा वर्षा वा हिमपात हुने देखिँदैन। त्यसैले ढुक्कले धान वा अन्य बाली काट्न सुरु गर्नुस्।'
यद्यपि, लामो समयको वर्षाले भिजेको जमिन, खोला, नाला, ताल, पोखरी र वनजङ्गलबाट हुने वाष्पीकरणका कारण केही स्थानमा स्थानीय वर्षा हुन सक्ने उनको भनाइ छ। विशेषगरी कास्कीको हेम्जा, लुम्ले, धम्पुसलगायत क्षेत्र तथा हिमाली भेगका दक्षिणी भागमा रहेका उपत्यका र गहिरा खोँचमा स्थानीय मौसमको अवस्था विचार गर्नुपर्ने उनले बताएका छन्।
यी सीमित क्षेत्रबाहेक अन्य स्थानमा वर्षाको सम्भावना नदेखिएको उपाध्यायको आकलन छ।
उनका अनुसार नवमी–दशमीका आसपास नेपालमा प्रभाव पार्न सक्ने भनिएको न्यूनचापीय प्रणाली पनि कमजोर अवस्थामा रहेकाले त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको देखिएको छ। उक्त प्रणालीले म्यान्मार र दक्षिण भारततर्फ मात्रै प्रभाव पार्न सक्ने उनको भनाइ छ।
मौसमसम्बन्धी थप विवरण शुक्रबारसम्म अझ स्पष्ट पार्ने उनले जानकारी दिएका छन्। 'नवमी-दशमी ताका आउन सक्ने भनिएको न्यून चापीय प्रणाली पनि कमजोर अवस्थामा रहेको र बंगालको खाडीबाट यसले म्यान्मार र दक्षिणभारत तर्फ मात्रै प्रभावपार्न सक्ने भएकाले नेपालमा यस्को प्रभाव शून्य देखिएको छ। अत: दशैँ पनि घमाइलो र रमाइलो हुन सक्ने छ। यसको थप जानकारी शुक्रबारसम्म अझ प्रष्ट गराउने छु,' उनले भने।
प्रकाशित: २६ आश्विन २०८३ १२:०८ सोमबार





