वीरेन्द्रनगर नगरपालिका–१ बाड्गेसिमलकी चित्रा विश्वकर्मा चप्पल बनाउने तालिममा सहभागी भइन् । सुरूमा उनलाई काम सिक्न सहज भएन् । ‘चप्पलको साइज, डिजाइन मिलाउनका लागि हिसाब सिक्नु पर्ने रहेछ,’ चित्राले भनिन्, ‘सिक्दै जाँदा अहिले सहज लाग्न थालेको छ ।’
सुरूसुरूमा डिजाइन बनाउन, साइज मिलाउँदा समय लाग्ने भएकाले दिनमा एक जोर चप्पल बनाउन पनि मुस्किल हुन्थ्यो उनलाई । ‘हात बस्दै गएकाले अहिले दिनमा चार–पाँच जोर बनाउन सक्ने भएकी छु,’ सात दिने चप्पल बनाउने तालिममा सहभागी भएपछि उनले भनिन्, ‘हात बस्यो भने दिनमा १० जोरसम्म चप्पल बनाउन सकिँदो रहेछ ।’
मखमलको कभरसहितको चप्पल बनाउँदा एक जोरको दुई सयसम्म खर्च आउँछ । त्यो बजारमा पाँच सयदेखि सात सय रूपैयाँसम्ममा विक्री हुन्छ । ’एक जोर चप्पलबाटै राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भनिन्, ‘अब यसैलाई व्यवसाय बनाउने तयारीमा छु ।’ चप्पल बनाउनका लागि उनले बुटवलबाट सामान पनि मगाएकी छन् । ‘घरमा खाली बस्नुभन्दा स्वरोजगार बन्ने लक्ष्य लिएकी छु,’ उनले भनिन्, ‘सिकेको सीपलाई व्यवहारमा उर्तानका लागि चप्पलका लागि आवश्यक पर्ने सामाग्रीहरु पनि अर्डर गरिसकेकी छु ।’
वीरेन्द्रनगर–१ कि सरस्वती सुनारले सिकेको सीपलाई व्यवहारमा उतार्ने बताइन् । ‘हातमा सीप थिएन्, घर–व्यवहार चलाउन श्रीमानको भर पर्नुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘अब सीकेको सीपलाई व्यवहारमा उतार्छु ।’ उनले थोरै लगानीमा व्यवसाय सुरू गर्न सकिने भएकाले चप्पल बनाउने उद्यम सुरू गर्ने बताइन् । ‘दुई–चार हजार रूपैयाँबाट व्यवसाय गर्न सकिने भएकाले तत्कालै यो काम सुरू गर्ने तयारी गरेकी छु,’ उनले भनिन्, ‘सामाग्री उत्पादन गरिसकेपछि बजारिकरणको समस्या छैन् ।’
उनले हाल दिनमा दुईदेखि तीन जोरसम्म चप्पल बनाउन सक्ने बताइन् । ‘भखर सीप सिकेकाले दिनमा दुईदेखि तीन जोरसम्म चप्पल बनाउन सक्छु,’ उनले भनिन्, ‘हात बस्यो भने दिनमै आठदेखि १० जोरसम्म चप्पल बनाउन सक्छु भन्ने विश्वास छ ।’ उनले स्थानीयस्तरमै चप्पलको माग उच्च भएकाले विक्रीको समस्या नहुने बताइन् । ‘तालिममा बनाएका चप्पलहरु पनि उतिबेलै बिक्री भए,’ उनले भनिन्, ‘उत्पादन गरेपछि बजारको यहाँ समस्या छैन ।’
प्रशिक्षार्थीहरुलाई स्थानीय पुनम बुढाले प्रशिक्षण दिएकी थिइन् । उनले सानो लगानीमा व्यवसाय गर्न सकिने भएकाले तालिम लिएपछि खाली बस्न नपर्ने बताइन् । ‘उत्पादनपछि बजारिकरणको समस्या छैन, नाफा पनि राम्रो छ,’ उनले भनिन्, ‘बेरोजगार महिलाहरूका लागि यो उपयुक्त अवसर हो ।’
सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बेरोजगार र समस्यामा रहेका महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । ‘महिलाहरूलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन यो तालिम दिएका हौं,’ उनले भने, ‘सीप सिकेर मात्रै हुँदैन्, यसलाई व्यवहारमा कार्यान्वयन गर्नुहोस् ।’
वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडाअध्यक्ष दिनेश खत्रीले महिलाहरूलाई स्वरोजगार बनाउने वडाको लक्ष्यमा यो तालिमले सघाउ पुर्याउने बताए । ‘वडाभित्रका बेरोजगार महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्य हामीले लिएका छौं,’ उनले भने, ‘यो तालिमले हाम्रो अभियानलाई सघाउ पुर्याएको छ ।’ उनले महिलाले उत्पादन गरेका उत्पादनलाई वडाले बजारीकरणमा सहजीकरण गर्ने बताए ।
प्रकाशित: ३ पुस २०८२ १७:२३ बिहीबार





