दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ। गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ। खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ।
त्यति मात्रै नभई मुहानमा गएर पनि एक घण्टासम्म पालो कुनुपर्ने अवस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गरिन्। 'पानी ल्याउन पोखरीसम्म जानका लागि आधा घण्टा लाग्छ, मुहानमा गए पनि पालो पाउन मुस्किल छ', उनले भनिन्।
त्यहाँ करिब डेढ सय घरपरिवार छन्। बागरको ठन्डीबजार, बनखल्यान, नयाँगाउँ, गोठीगाउँलगायत गाउँमा खानेपानीको निकै समस्या हुने गरेको छ। ती दुईवटा मुहानको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकेमा समस्या नहुने स्थानीय एमेशन चौधरीले बताए। 'दुईवटा मुहानलाई एउटा ओभरहेड ट्याङ्की बनाएर जम्मा गरेमा सबै गाउँलाई सहजै पुग्थ्यो', उनले भने, 'घण्टौँ पालो कुर्नुपर्ने अवस्था आउने थिएन।'
गाउँमा एउटा डिपबोरिङसमेत खनिएको छ। त्यो डिपबोरिङ खनेपछि घरघरमा धारा पनि जडान गरियो। केही समय त ती धारामा पनि पानी आयो। तर, अहिले ती धारा सुक्खा छन्। 'ट्याङ्की नहुँदा पानी खेर जाने अवस्था भयो', स्थानीय निमबहादुर खत्रीले भने, 'त्यसले गर्दा पानीको सतह मोटरभन्दा मुनि गयो र धारामा पानी आउन छोड्यो।'
खानेपानी समस्या समाधानका लागि सबै तहका सरकारलाई गुहार गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। चुनावका बेला पानीको माग पूरा गर्ने आश्वासन आए पनि त्यो समाधानका लागि पहल भएको छैन।
प्रकाशित: २२ असार २०८३ ०६:४७ सोमबार





