नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो।
अध्यक्षमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ।
विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न उम्मेदवारदेखि प्रतिनिधिलाई लामो समय लाग्ने गरेको छ। अध्यक्षका उम्मेदवारद्वय ईश्वर पोखरेललाई मतदान गर्न एक घण्टा ४ मिनेट लाग्यो भने ओलीलाई एक घण्टा १० मिनेट लागेको थियो। अरूले पनि करिब आधा घण्टा समय लिइरहेका छन्।
एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन्। दुई हजार २६३ प्रतिनिधि रहेका छन्। महाधिवेशन स्थलको भित्र र बाहिर विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छुकहरूले आ–आफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
एमाले महाधिवेशनको उद्घाटन गत मङ्सिर २७ गते भक्तपुरको सल्लाघारी चौरमा भएको थियो। मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्र र चुनावी कार्यक्रम सुरु भएको हो।
प्रकाशित: २ पुस २०८२ १२:४१ बुधबार





