सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। गम्भीर रूपमा जलेका मण्डललाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार शुक्रबार दिउँसो करिब १:३० बजे मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो। शरीरको ठूलो भाग जलेर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी गौतमले जानकारी दिए।
घटनाबारे जानकारी पाएपछि हाल चीन भ्रमणमा रहेका सर्लाही क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत घाइतेको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै प्रधानमन्त्री, गृहमन्त्री तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले घाइतेको शीघ्र उद्धार, सुविधासम्पन्न अस्पतालमा उपचार तथा निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
यता, घाइते विवेक मण्डलका बुवा उपेन्द्र मण्डलले छोराको मानसिक अवस्था केही समयदेखि अस्वस्थ रहेको बताएका छन्। पारिवारिक सदस्यहरूले पनि मण्डलमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी दिएको प्रहरीले जनाएको छ।
डीएसपी गौतमका अनुसार घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
गोडैता नगरपालिका–१० का वडाध्यक्ष बैद्यनाथ मण्डलका अनुसार विवेक मण्डल शिक्षित व्यक्ति हुन्। उनका जेठा दाजु मुकेश मण्डल विगत नौ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका छन्। विवेकका एक छोरा र एक छोरी छन्।
वडाध्यक्ष मण्डलले आफू सदरमुकाम मलङ्गवामा जनताको काममा रहेका बेला घटनाको जानकारी पाएको र तत्काल सुरक्षाकर्मीसँग समन्वय गरी घाइतेको उपचार व्यवस्थापनमा जुटेको बताए।
प्रकाशित: २६ असार २०८३ २०:४९ शुक्रबार





