हिउँले ढाकिएको अन्टार्कटिकाको अनन्त सेतो मरुभूमि। हजारौं साथीहरूको हुल र सुरक्षित समुद्र छोडेर एउटा पेन्गुइन एक्लै अनकन्टार पहाडतिर लम्किरहेको छ। न त्यहाँ खाना छ, न बाँच्ने कुनै सम्भावना। तर, ऊ रोकिँदैन।
सन् २०२६ को सुरुवातसँगै सामाजिक सञ्जाल टिकटक, एक्स (ट्विटर) र इन्स्टाग्राममा यो भिडियो भाइरल बन्यो।
अहिले भाइरल भइरहेको यो फुटेज जर्मन फिल्ममेकर वेर्नर हर्जोगको सन् २००७ को चर्चित डकुमेन्ट्री ‘इन्काउन्टर एट द एन्ड अफ द वर्ल्ड’ बाट लिइएको हो।
डकुमेन्ट्रीमा अन्टार्कटिकाको जनजीवन र त्यहाँका प्राणीहरूको सङ्घर्ष देखाइएको छ।
भिडियोमा देखिने ‘एडेली पेन्गुइन’ को व्यवहार सामान्य देखिँदैन। साधारणतया पेन्गुइनहरू समुद्रको नजिक बस्छन्। त्यहाँ उनीहरूलाई खाना प्राप्त हुन्छ।
तर, भिडियोमा देखिएको पेन्गुइन आफ्नो समूहबाट अलग भएर करिब ७० किलोमिटर टाढाका हिउँले ढाकिएका पहाडहरूतर्फ हिँडिरहेको छ।
हर्जोगले आफ्नो आवाजमा न्यारेसन गर्दै भनेका छन्, ‘यो पेन्गुइन न त खानाको खोजीमा छ, न त बासस्थानको। यो सिधै ७० किलोमिटर टाढा रहेका पहाडहरूतर्फ मृत्युको यात्रामा निस्किएको छ।’
हर्जोगका अनुसार यो पेन्गुइनलाई कसैले समातेर समुद्रतर्फ फर्काइदिए पनि यो पुनः त्यही पहाडतर्फ नै फर्किन्छ र अन्त्यमा भोक र थकानले मर्छ।
सन् २०२६ को जनवरीमा टिकटक प्रयोगकर्ताहरूले यो क्लिपलाई युरोपेली डान्स ट्रयाकको चर्च अर्गन भर्जनको संगीतसँग जोडेर पोस्ट गर्न थालेपछि यो भाइरल भयो। त्यसपछि यो इन्स्टाग्राम र एक्स (ट्विटर) मा आगोसरी फैलियो।
भिडियो भाइरल हुनुको मुख्य कारण मानिसहरूले पेन्गुइनको त्यो एक्लो यात्रामा आफ्नै जीवनको प्रतिविम्ब देख्नु हो। आधुनिक जीवनको दौडधुप, कामको तनाव र सामाजिक दबाबबाट थकित मानिसहरूले पेन्गुइनको व्यवहारलाई विद्रोहको रूपमा व्याख्या गरे।
धेरैले यसलाई निहिलिजम अर्थात् जीवनको निरर्थकता वा शून्यतावादसँग जोडे। प्रयोगकर्ताहरूले त्यो पेन्गुइन जस्तै बन भन्दै भिडियोहरू बनाए।
मानिसहरूले यसलाई हसल कल्चर वा सधैं व्यस्त रहने बानीविरुद्धको मौन विद्रोहका रूपमा लिए। उनीहरूको बुझाइमा त्यो पेन्गुइनले समाजका नियमहरू लत्याएर आफ्नो बाटो आफैं रोजेको छ। चाहे त्यो बाटो मृत्युतर्फ नै किन नजाओस्।
इन्टरनेटले यस पेन्गुइनलाई जतिसुकै दार्शनिक वा विद्रोही बनाए पनि विज्ञानको तर्क भने नितान्त फरक छ। वैज्ञानिकहरूका अनुसार पेन्गुइनको यो व्यवहार कुनै आत्मिक जागरण वा विद्रोह होइन।
पेन्गुइन विशेषज्ञ डा. डेभिड एन्ली र अन्य वैज्ञानिकहरूका अनुसार यो केवल दिशा भ्रम को नतिजा हो।
कहिलेकाहीँ बिरामी पर्दा, चोटपटक लाग्दा वा मस्तिष्कसम्बन्धी समस्या हुँदा पेन्गुइनहरूले आफ्नो दिशा पत्ता लगाउने क्षमता गुमाउँछन्।
समुद्रको नुनिलो पानीको गन्ध वा साथीहरूको आवाज पछ्याउन नसक्दा उनीहरू गलत दिशा (पहाड वा मरुभूमि) तर्फ लाग्छन्।
हर्जोगको डकुमेन्ट्रीमा देखिएको पेन्गुइन सम्भवतः बिरामी थियो र अन्त्यमा भोक, तिर्खा वा थकानले उसको मृत्यु निश्चित थियो।
निहिलिस्ट पेन्गुइनको कथाले पेन्गुइनबारे भन्दा पनि मानव समाजको वर्तमान मनोविज्ञानबारे धेरै कुरा बोल्छ। हामी एउटा बाटो बिराएको, बिरामी र मृत्युको मुखमा पुगेको जनावरलाई हेरेर त्यसमा स्वतन्त्रता र साहस देखिरहेका छौँ।
अहिले मानिसहरु आफ्नो नियमित जीवनचर्याबाट उम्किएर कतै टाढा, अनिश्चित तर शान्त यात्रामा निस्कन चाहन्छन्। ठ्याक्कै त्यही पेन्गुइन जस्तै।
सायद त्यसैले, २० वर्ष पुरानो एउटा दुःखद दृश्य आजको डिजिटल पुस्ताको लागि सबैभन्दा सान्दर्भिक प्रतीक बन्न पुगेको छ।
एजेन्सीको सहयोगमा
प्रकाशित: १७ माघ २०८२ २१:३८ शनिबार





