तिहार नजिकिँदै गर्दा जुम्लाको सदरमुकाम खलंगा बजार सयपत्री फूलको सुवासले महकिएको छ। परम्परा, उत्पादन र आत्मनिर्भरता मिसिएको यो दृश्यले न केवल तिहारको रौनक बढाएको छ, स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका र वरपरका गाउँहरू— जातिभिड, तलिउम, स्यालबाडा, रोकायाबाडा, गुठिचाैर गाउँपालिका भित्रका देपालगाउँ, उखाडी, धवलपुरा गाउँ र पातारासी गाउँपालिका भित्रका बाता र उर्थु गाउँबाट सयपत्री फूलमाला बोकेर आएका महिला र किशोरीहरूको भीडले खलंगा बजारलाई फूलैफूल बनाएको छ। बिक्री स्थलको अभावले किसानहरू डोकोको भरमा सडक छेउमै फूलमाला राखेर बेच्छन्। पातारासी गाउँपालिका–६, बाता गाउँकी सृजना बुढा भन्छिन्, 'व्यवस्थित ठाउँ छैन, सडकमै डोको राखेर बेच्नुपरेको छ। तर माग राम्रो छ, मेहनत खेर जान्दैन।'

यस पटक खलंगाको बालमन्दिर, प्रशासन चोक, कालेखोली, जुगाडपुल र विजयनगर लगायतका क्षेत्रमा सयपत्री फूलमालाको विशेष चहलपहल छ। स्यालबाडा गाउँकी लालकला रोकाया दुई डोको माला बोकेर खलंगा झरेकी थिइन्। 'एकै दिनमा सबै माला बिक्री भयो,' उनी भन्छिन्, 'पहिले यत्रो व्यापार हुने सोचेकै थिइनँ, अहिलेचाहिँ फूलको व्यापार नै व्यावसायिक बन्दैछ।'
त्यस्तै, तलिउम गाउँकी पञ्चा रोकायाले घरको बारीमा लगाएको फूलबाट माला बनाएर बालमन्दिर छेउ राखिन्। डोकोलाई पूलझैँ सजाएर राखिएको त्यो दृश्य बजारकै आकर्षण बन्यो।
'दर्जनौं माला बेचें, फूल लगाउँदा र बनाउँदा जति खुशी लाग्छ, त्यसभन्दा बढी बजारमा मान्छेले मन पराउँदा हुन्छ,' उनी मुस्कुराउँदै भन्छिन्। केही वर्षअघिसम्म बजार प्लाष्टिक माला र आयातित मालाले भरिन्थ्यो। तर अहिले प्लाष्टिकको माला 'अशुभ' ठान्दै हटाउने चलन बढ्दो छ। जुम्लाको तिला गाउँपालिका–६ वडाले त प्लाष्टिक माला निषेध नै गरिसकेको छ।

जुम्लाका एक नगरपालिका, सात गाउँपालिका र ६० वडा मध्ये तिला -६ वडालेे मात्रै यस्तो निर्णय गरेको हो। यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य भन्छन्, 'हामी आफ्नै माटोको फूल प्रयोग गरौं भनेर सबै दिदीबहिनीलाई आग्रह गरेका छौं। यस्ता अभियानले स्वदेशी उत्पादनलाई सम्बल दिन्छ।'
सयपत्री फूलमालाको कारोबारबाट यसपालिको तिहारमा करिब तीन लाख रुपैयाँभन्दा बढीको व्यापार हुने अनुमान गरिएको छ। धेरै किसान र गृहिणीले तिहारको खर्च यही आम्दानीबाट जोहो गरेका छन्। सयपत्री फूल उत्पादन गरेर माला बनाउने, बजार ल्याउने, सडकमै बेच्ने— यो सबै चक्र अब जुम्लामा आत्मनिर्भर तिहारको परिभाषा बन्दै गएको छ। केही पसलहरूले किसानसँग सिधा होलसेल खरिद गरेर फूलमाला बेचना सुरु गरिसकेका छन्।

पहिले गाउँमा मात्र सीमित सयपत्री फूल अहिले शहर बजारमा व्यावसायिक पहिचान बनाउँदैछ। यो केवल आर्थिक क्रियाकलाप होइन, मौलिक संस्कृतिको पुनर्जागरण पनि हो। सयपत्री फूलमालाले बजार सजिँदा बजारको मुटु न्यानो हुन्छ; त्यस्तै किसानको अनुहारमा पनि फूल जस्तै चमक आउँछ।

प्रकाशित: ५ कार्तिक २०८२ २०:४५ बुधबार





