कर्णाली प्रदेशमा सवारी साधन चलाउँदा प्रहरी चेकपोष्टमा अनिवार्य रूपमा ईन्ट्री गर्नुपर्ने झन्झट अब हटेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले अनावश्यक रूपमा बढेका चेकपोष्ट र सवारी ईन्ट्रीप्रति आएको गुनासोलाई सम्बोधन गर्दै मातहतलाई यस्तो निर्देशन दिएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अब जिल्ला प्रवेश गर्ने सिमानामा मात्र आवश्यकताअनुसार सवारी साधनको निगरानी र चेकजाँच गरिनेछ । जिल्लाभित्र रहेका अन्य प्रहरी पोष्टमा सवारी ईन्ट्री गरिरहनुपर्ने बाध्यता हटाइएको छ । यसले यात्रु, चालक तथा यातायात व्यवसायीलाई सहजता ल्याउने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) माधवप्रसाद श्रेष्ठले आफू जिम्मेवारी सम्हालेसँगै अनावश्यक रूपमा सवारी रोक्ने र ईन्ट्री गराउने प्रवृत्तिलाई अन्त्य गरिएको बताए ।
डिआइजी माधव प्रसाद श्रेष्ठ कर्णाली प्रदेशको प्रहरी प्रमुख भएर आएलगत्तै अनावश्यक रुपमा हुँदै आएको कर्णालीका विभिन्न जिल्लाका ३४ वटा प्रहरी पोष्टहरुमा सवारी ईन्ट्री गर्नुपर्ने बाध्यता हटाएका थिए ।
प्रकाशित: ११ पुस २०८२ १६:१० शुक्रबार





