सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, ठुलो ब्युरेनिस्थित रत्न राजमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा १७ जना घाइते भएका छन्।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ ख ११२९ नम्बरको इलेक्ट्रिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक ३८ वर्षीय हरी मल्ल (सुर्खेत, बराहताल–४) को कम्मरमा चोट लागेको छ भने अन्य १६ जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूको उपचार सुर्खेतको देउती नर्सिङहोम अस्पतालमा भइरहेको छ।
दुर्घटनामा घाइते हुनेहरूमा दिपेन्द्र दमाई (१८ वर्ष, जुम्ला चन्दननाथ–१), महेन्द्र शाही (२८ वर्ष, जुम्ला सिंजा–५), लाल बहादुर शाही (३८ वर्ष, सुर्खेत वीरेन्द्रनगर–३), लक्ष्मी कठायत (२७ वर्ष), नरेश शाही (३८ वर्ष), पर्शुराम घर्ती मगर (३५ वर्ष, सुर्खेत लेकबेशी–६), शम्सेर खड्का (२३ वर्ष, दैलेख दुल्लु–६), लक्ष्माण कार्की (३० वर्ष, दैलेख दुल्लु–११), राज्य लक्ष्मी हमाल (२४ वर्ष, जुम्ला सिंजा–३), गणेश योगी (२६ वर्ष, दैलेख दुल्लु–१०), रोशन बिक (२२ वर्ष, कालिकोट पचाल झरना–३), ऐन रोकाया (२२ वर्ष, जुम्ला सिंजा–४), रक्षा धिताल (१६ वर्ष), विष्णु शाही (२२ वर्ष), दिनेश शाही (३२ वर्ष, मुगु सोरु–९) र श्री परियार (२१ वर्ष, जुम्ला चन्दननाथ–१) रहेका छन्।
दुर्घटनापछि नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा सबै घाइतेको उद्धार गरी तत्काल अस्पताल पुर्याइएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार गाडी आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो भने थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रकाशित: १२ आश्विन २०८२ ०९:०९ आइतबार





