अमेरिकाले नेपाली सेनाका लागि प्रतिबद्धता जनाएका दुई हवाईजहाज हस्तान्तरण गरेको छ। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहबिच नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईलाई जहाज हस्तान्तरण गरेका हुन्।
अमेरिकाले दिएका दुई जहाजको मूल्य तीन करोड ७० लाख अमेरिकी डलर (करिब सवा ५ अर्ब रुपैयाँ) बराबर रहेको बताइएको छ। अमेरिकाले विदेशी सैन्य वित्तपोषण (एफएमएफ) अनुदानमार्फत दुई वटा नयाँ ‘एम–२८ स्काइट्रक’ विमान उपलब्ध गराएको हो। दुई मध्ये एक विमानलाई एयर एम्बुलेन्सका रूपमा प्रयोग गर्ने नेपाली सेनाले जनाएको छ। जसमा बिरामी तथा घाइतेको उद्धार गर्न सकिने व्यवस्था छ। अर्को विमान पनि विपद् प्रतिकार्य, घाइते उद्धार र मानवीय सहायता कार्यसम्बन्धी कार्यमा प्रयोग गर्न उपयुक्त मानिएको छ।
विमान हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री देउवाले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता वृद्धिका लागि अमेरिकाले जहाज प्रदान गरेर नेपाल–अमेरिकाबिचको स्थायी मित्रताको प्रतीकका रूपमा काम गरेको बताइन्।
‘अमेरिका नेपालको एक अडिग विकास साझेदार र भरपर्दो मित्र रहिआएको छ,’ उनले भनिन्, ‘जसले हामीलाई शासन सञ्चालन, मानवीय सहायता, विपद् प्रतिकार्य, शान्ति स्थापना र क्षमता निर्माणमा सहयोग गर्दै आएको छ ।’ अमेरिकाले प्रदान गरेका विमान यन्त्र मात्र नभई विपद्मा पर्ने नेपालीका लागि जीवनरेखाको काम गर्ने परराष्ट्र मन्त्री देउवाले बताइन्।
अमेरिकी राजदूत थम्पसनले उपलब्ध विमानले नेपालका जुनसुकै कुनामा आपत्कालीन घटना भएपनि छिटो र प्रभावकारी रूपमा प्रतिकार्यको काम गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो सहयोग नेपाल–अमेरिकाबिचको बृहत्तर सुरक्षा सहकार्यको एउटा सानो हिस्सा मात्रै हो। अमेरिकाले प्रशिक्षण आदानप्रदान, उपकरण हस्तान्तरण र विकास योजना निर्माणलगायतमा नेपालसँग काम गरिरहेको छ।’ यो सहयोगले नेपाललाई अझ उत्थानशील, सक्षम र सुरक्षित बनाउने अमेरिकाको प्रतिबद्धतालाई मदत गर्ने उनले बताए।
यी विमान अमेरिकी लकहिड मार्टिन नामक कम्पनीको सहायक कम्पनी पीजेडएल मिएलेकद्वारा निर्माण गरिएका हुन्। जसले निर्माण गरेका विमान नेपालको हिमाली र पहाडी भूगोलका लागि उपयुक्त रहेको दाबी गरिएको छ।
यी विमान छोटो रनवेमै सहज उडान र अवतरण गर्न सक्षम मानिन्छन्।
दुई विमान थपिएसँगै नेपाली सेनासँग स्काइट्रक विमानको संख्या पाँच पुगेको छ। जसमध्ये सन् २०१९ मा अमेरिकाले नै प्रदान गरेका थप दुई विमान र एक नेपाल आफैँले खरिद गरेको छ।
विमान हस्तान्तरण समारोहमा नेपालका वरिष्ठ अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, अमेरिकी विदेश मन्त्रालयको सुरक्षा सहायतासम्बन्धी प्रमुख उपनिर्देशक मेरी ए आर्चरलगायतको उपस्थिती थियो।
यसअघि अमेरिकाले नेपालसँग विपद् उद्धार र राहत कार्यमा सहयोग गर्न दुई एम–२८ स्काइट्रक र दुई बेल–४१२ हेलिकप्टर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। अमेरिकाले उपलब्ध गराउने भनेको हेलिकप्टर भने अझै दिन बाँकी छ।
प्रकाशित: १९ भाद्र २०८२ १७:५० बिहीबार





