नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालालाई महत्त्वपूर्ण आधुनिक मेसिन प्रदान गरेको छ। दूतावासले प्रहरीको विधि विज्ञान प्रयोगशालालाई कम्बाइन्ड डिएनए इन्डेक्स सिस्टम(काेडिस), डिएनए सफ्टवेयर एन्ड रेडियन एटमसफेरिक प्रेसर सोलिड एनालाइसिस प्रोब(एसाप), मास स्पेक्ट्रोमिटर, ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्रदान गरेको हो।
बुधबार एक कार्यक्रमबिच अमेरिकी राजदूत डिन आर थम्पसनले नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) दिपक थापालाई उक्त प्रविधिका मेसिनहरू हस्तान्तरण गरेका हुन्।
मेसिन बुझेपछि आइजिपी थापाले प्राप्त आधुनिक उपकरणहरू र प्रविधिले केन्द्रीय विधि विज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने बताए। साथै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो छरितो बन्ने, वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणहरू समेत प्राप्त हुने विश्वास व्यक्त गरे।
कोडिस प्रणालीको सुविधाले फोरेन्सिक डिएनए विश्लेषण क्षमतालाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै आइजिपी थापाले रेडिएसन एसाप मास स्पेक्ट्रोमिटरले लागू औषधको स्क्रिनिङमा समेत क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
आइजिपी थापाले अमेरिकी दूतावासले केन्द्रीय विधि विज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवं विकासको लागि विगतमा विभिन्न परामर्श, तालिम र उपकरण समेत प्रदान गर्दै आइरहेको उल्लेख गर्दै त्यसले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप क्षमतावान् एवं दक्ष फोरेन्सिक विज्ञ उत्पादन गर्न मद्दत पुगेको बताए ।
आधुनिक प्रविधिको उपलब्ध हुँदा प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुग्ने आइजिपी थापाले विश्वास व्यक्त गरे।
कार्यक्रममा अमेरिकी राजदूत डिन आर थम्पसनले उपलब्ध आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा समेत महत्त्वपूर्ण योगदान पुग्ने बताए।
प्रकाशित: ११ भाद्र २०८२ १७:४१ बुधबार





