बाँकेको राप्ती सोनारी–१ कुसुमस्थित सौरी जंगलमा पाटेबाघको आक्रमणमा परेका व्यक्तिको शव फेला परेको छ । बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको थियो । भण्डारीको शव नजिक करिव ५० मिटरको दूरीमा एउटा गाईलाई समेत बाघले मारेको अवस्थामा फेला परेको छ ।
गाई चराउन जंगल गएको समयमा बाघले आक्रमण गर्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय कुसुमका प्रमुख एवम् सहायक संरक्षण अधिकृत कुन्नारायण चौधरीले बताए । मृतकको शव जंगलभित्र फेला पारेर घटनास्थलको मुचुल्का तयार पारिएको उनले बताए ।
‘मृतकको शव फेलापारेर कानूनी प्रक्रिया अगाडी बढाएका छौं,’ चौधरीले भने । मृतकको शवलाई पोष्ट मार्टम गर्न नेपालगन्ज ल्याइएको छ ।
बाघले मृतक भण्डारीको घाँटी र टाउकोमा आक्रमण गरेको र शरीरका अन्य भागमा चोट कतै नदेखिएको चौधरीले बताए । उनकाअनुसार बाघले करिव ५० मिटरको दूरीमा एउटा गाईलाई समेत मारेको फेला परेको हो । बाघले मान्छेलाई आक्रमण गरेपछि गाईलाई पनि मारेको बताइएको छ ।
भण्डारीसँगै अन्य तीन जना पनि सँगै गाई चराउन जंगल गएकाथिए । प्रत्यक्षदर्शीका अनुसार गाई चराउन गएका बेला शनिबार दिउँसो साढे १ बजेतिर उनलाई बाघले आक्रमण गरेको थियो ।
गाई चराउन सँगै जंगल गएका अर्का स्थानीयबासिन्दा पिमलाल डाँगीले भण्डारीलाई बाघले एक्कासी आक्रमण गरेको र आफूहरुले हो–हल्ला गर्दा पनि बाघले घिसार्दै लगेको बताए ।
‘हामीले एक्कासी आक्रमण गरेको देख्यौं, हामीहरु चिच्याउँदा बाघले उल्टै हामीलाई पनि झम्टिन खोज्यो,’ डाँगीले भने । बाघले आफुहरुलाई समेत आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए ।
घटना लगत्तै बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली पुगेर मृतकको शवलाई फेला पारेको थियो । त्यो क्षेत्र पूर्वपश्चिम राजमार्गको सौरी खोलाबाट उत्तरतर्फ पहाडमा पर्छ । केही वर्ष अघि पनि बाघले राप्ती सोनारी–१ गाभरमा मान्छे मारेको थियो ।
अहिले घटना दोहोरिएपछि स्थानीयबासी त्रसित बनेका छन् । यहाँका अधिकांस स्थानीय कृषि र पशुपालनमा निर्भर छन् । पशुपालन गर्ने किसान जंगलमा निर्भर छन् ।
प्रकाशित: १९ पुस २०८२ १८:३३ शनिबार





