२ पुस २०८२ बुधबार
image/svg+xml
समाज

सिरहा कारागार : असुरक्षादेखि असुली र झडपसम्म

समिति बन्छ, प्रतिवेदन बन्छ कार्यान्वयन शून्य

सिरहा कारागारमा नाइकेले सुरक्षाकर्मी सँगको सेटिङमा मदिरादेखि लागुऔषधसम्म भित्र्याउने गरेको सार्वजनिक भएपछि तत्कालीन सुरक्षा समितिले छानबिनका लागि डिएसपीको नेतृत्वमा समिति नै गठन गर्‍यो।  

जिल्ला सुरक्षा समितिले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तत्कालीन डिएसपी विष्णु प्रसाद सोती नेतृत्वमा कारागार, जिल्ला प्रशासनका प्रतिनिधि सहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिले डेढ महिना लगाएर २०८१ पुस ४ मा जिल्ला सुरक्षा समितिमा ९० पेजको छानबिन प्रतिवेदन सुरक्षा समितिका प्रमुख (प्रमुख जिल्ला अधिकारी) समक्ष बुझाएको थियो।  

समितिले प्रतिवेदन बुझाएको ८ महिना बितिसक्दा न प्रतिवेदन सार्वजनिक भयो न प्रतिवेदनमा औँल्याइएको कैफियतमा सुधार हुन सक्यो। फलतः कारागारमा पुनः अर्को लफडा उत्पन्न भयो। साउन ४ गते दिउँसो कारागारमा दुई समूहबिच झडप भयो। झडपमा परेर निमित्त चौकीदार विजय महतो सहित १३ जना घाइते भए। उनीहरूलाई तत्काल सिरहा स्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरेर केन्द्रीय कारागार काठमाडौं पठाइयो।  

कारागार स्रोतका अनुसार कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका महतो र उनको समूहले कैदीहरू सँग अवैध रूपमा रकम असुलिरहेको थियो। यस विषयमा अन्य कैदीहरूले कारागार प्रशासन समक्ष पटक पटक मौखिक गुनासो गरेका थिए।  

तर, कतैबाट सुनुवाइ नभएपछि कैदीहरू आफैँ एक अर्का सँग भिडे। र, झडप हुन पुग्यो। कुनै समय एउटै समूहमा रहेका महतो र आन्तरिक प्रशासनका नाइके इन्द्रजीत यादव पछिल्लो समय दुई समूहमा विभाजित थिए। यो झडप उनीहरूकै समूह बिच भएको थियो।  

उनीहरूले कारागार भित्रै मदिरा मगाएर सेवन गर्थे। मोबाइल चलाउँथे। लागुऔषध सहित सबै सामान भित्र्याउँथे। कैदीहरू पैसा तिरेर बाहिर निस्कन पाउने। कारागार भित्रै अवैध सामानको पसल खोलेर कैदीहरू सँग रकम असुल्ने गरेको कैदीहरूले नै गुनासो गरेका थिए। झडपको क्रममा घाइते एक कैदीले त यस कारागारबाट महिनाकै ३५ लाख असुलीको पैसा प्रहरी देखि प्रशासन र कारागार प्रमुख सम्म पुग्ने गरेको आरोप सार्वजनिक रूपमै लगाएका थिए।  

कारागारको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकको कमाण्डमा २५ जना बढी सुरक्षाकर्मी खटिएका हुन्छन्। यस्तै, जिल्ला प्रशासन कार्यालय, सिरहा र कारागार कार्यालय, सिरहाले पनि यसमा प्रत्यक्ष निगरानी राख्छ।  

तर, यसका बाबजुद कारागारमा अवैध गतिविधि हुँदै आएको यो घटनामा छानबिन समितिले प्रहरी, कारागारका कर्मचारी देखि कारागारको आन्तरिक प्रशासन चलाइरहेका कैदी सम्मलाई सरुवा र कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रतिवेदनमा सुझाएको स्रोतको दाबी छ। प्रतिवेदनमा दोषी ठहर्‍याइएकाहरूलाई जोगाउन प्रतिवेदनलाई सार्वजनिक नगरी दबाइएको स्रोतको भनाइ छ।  

प्रतिवेदन सार्वजनिक गर्न कारागार व्यवस्थापन विभाग र प्रशासनले आनाकानी गर्दा समेत उपल्लो निकाय चुपचाप छ। यो अवधिमा यस कारागारका तीन जना जेलर फेरिएका छन्। दिनेश भट्टराई, राजन घिमिरे सरुवा नै भइसकेका छन्। अहिले सुवोधकुमार महतो जेलर छन्। कारागार स्रोतका अनुसार यसरी छोटो अवधिमा तीन जेलर फेरिनुको पछाडिको कारण भने छानबिन प्रतिवेदन दबाउने कि सार्वजनिक गरी कार्यान्वयन गर्ने खेल हो।  

कारागारमा हुने अवैध गतिविधिमा सरकारी अधिकारीहरूकै मिलेमतो रहने गरेको तथ्य यो छानबिन प्रतिवेदन सार्वजनिक भएपछि प्रस्ट हुने एक अधिकारीले बताए। यसले अपराध गरेर जेल सजाय काटिरहेका हरू कारागार भित्र पनि कसरी आफ्नो सञ्जाल सञ्चालन गर्छन् भन्ने देखाउँछ।  

यो घटना पछि यहाँका सामान्य कैदीहरूमा त्रास फैलिएको छ। सिरहा कारागारमा प्राय: विवाद भइरहने गरेको एक कैदी बताउँछन्। ‘मारपिट भएर मात्र हो यहाँको असलियत बाहिर आयो, तर यहाँ विवाद त सामान्य घटना भइसकेको ती कैदीले बताए। कति खेर के हुने हो, ठेगान हुँदैन, हामी त्रासमा हुन्छौँ।’  

तर, कैदीहरू डराएको भए पनि विवाद हुने अवस्था भने अहिले नरहेको दाबी जेलर महतोको छ। ‘झडप पछि कैदीहरूमा डर त्रास स्वाभाविक हो,’ उनले भने, ‘तर, कुनै त्यस्तो खालको विवाद वा घटना हुने अवस्था छैन।’  

सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल भने छानबिन प्रतिवेदन कार्यान्वयनको प्रयास भइरहेकै अवस्थामा कारागारमा कैदीहरू बिच झडप भयो। ‘छानबिन प्रतिवेदन कार्यान्वयनका लागि प्रयास भइरहेकै अवस्थामा घटना हुन पुग्यो,’ उनले भने, ‘अहिले यसै घटनाको अनुसन्धानमा हामी केन्द्रित छौँ, यो टुंगिएपछि पहिलाको प्रतिवेदन कार्यान्वयन पनि सँगै गर्छौ।’  

सिरहा कारागारमा १५ जना महिला र १ सय ३५ जना पुरुष गरी १५० जनाको क्षमता छ। तर, अहिले कारागारमा महिला र पुरुष गरी ४ सय ४७ जना कैदी बन्दी कोचिएर बसेका छन्।

प्रकाशित: २५ श्रावण २०८२ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App