नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै सडक प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताहरू गाडी तोडफोड र आगजनीमा उत्रिएका छन्।
शनिबार दिउँसो माइतीघर क्षेत्रमा भेला भएका उनीहरू नाराबाजी गर्दै बबरमहलतर्फ अघि बढेर मूल सडकमै टायर बालेका छन्। प्रदर्शनकारीले बबरमहल क्षेत्रमा एउटा निजी गाडीको सिसा समेत फुटाएका छन्।
आक्रोशित कार्यकर्ताहरूको भीडलाई नियन्त्रण गर्न सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
बाटो खुलाउने र भीड नियन्त्रण गर्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ। प्रदर्शनकै क्रममा आफ्नो भीडमा घुसपैठ भएको आशंका गर्दै एमाले कार्यकर्ताहरूले एक जना अपरिचित व्यक्तिमाथि कुटपिट समेत गरेका छन्।
प्रदर्शनकारीमध्ये एउटा समूह नाराबाजी गर्दै बबरमहलबाट सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेको छ भने बाँकी समूहले बबरमहल क्षेत्रमै बसेर विरोध प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।
शनिबार बिहान अध्यक्ष ओली पक्राउ परेपछि बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सरकारको यस कदमको राजनीतिक र कानुनी रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो।
पार्टी केन्द्रको सोही निर्णयलगत्तै आक्रोशित कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानमा भेला भएर सडक प्रदर्शनमा निस्किएका हुन्।
प्रकाशित: १४ चैत्र २०८२ १६:१६ शनिबार





