दायाँ मोटरसाइकल, बायाँ मोटरसाइकल, अगाडि मोटरसाइकल, पछाडि मोटरसाइकल। ठोक्किने पनि मोटरसाइकल, ठोक्काउने पनि मोटरसाइकल। दुई पाङ्ग्रे सवारीको बढ्दो प्रयोगसँगै काठमाडौं उपत्यकाका सडकमा देखिने नियमित दृश्य हो यो।
यस्तोमा थलीका रूपक घिमिरे नयाँ मोटरसाइकल किन्न मोटरसाइकल चढेरै शोरुममा जाँदै थिए। ‘दसैँको अफर भएकाले किन्न हिँडेको,’ जोरपाटी नजिकै भेटिएका उनले भने, ‘सार्वजनिक यातायातको भर छैन, मोटरसाइकल नभए त अफिस समयमै पुग्न सकिन्न।’
काठमाडौंका सडकहरूमा दैनिक जीवनको अभिन्न अंग भएका मोटरसाइकल र स्कुटरहरू अहिले सुविधा मात्र नभई दुर्घटनाको मुख्य कारकका रूपमा देखिँदै छन्। पछिल्लो तथ्याङ्कले दुई पाङ्ग्रे सवारीसाधन नेपालका सडकमा ‘सबैभन्दा जोखिमयुक्त’ बन्दै गएको देखिन्छ।
सडक विज्ञ आशिष गजुरेल दुई पाङ्ग्रे आफैँमा जोखिमयुक्त सवारी रहेको र त्यसमा अनुशासन पालना नहुँदा झनै भयावह भएको बताउँछन्। ‘कुल सवारीमध्ये ८० प्रतिशत मोटरसाइकल रहेको अनुमान छ,’ उनले भने, ‘धेरै संख्यामा भएपछि दुर्घटना पनि धेरै हुने नै भयो।’
युवायुवतीको रोजाइ मोटरसाइकल पर्ने गरेको बताउँदै ‘स्पिड’ तथा अन्य सडक अनुशासन पालना नगर्दा दुर्घटना बढेको उनले बुझाइ छ। ‘मोटरसाइकलले अर्को सवारीलाई ठक्कर दिँदा होस् या अर्को सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दुवैमा पहिला मोटरसाइकल नै ढल्छ,’ उनी भन्छन्, ‘यस्तोमा सुरक्षाका विभिन्न उपायमा ध्यान दिनु जरुरी छ।’ मोटरसाइकल दुर्घटनामा मृत्यु न्यूनीकरणको लागि दुई वटा हेलमेट पनि अनिवार्य हुनु पर्ने उनको बुझाइ छ।
मोटरसाइकल आयातमा रोक लगाउन नसके यो प्रयोग गर्न बाध्य हुनु पर्ने अवस्था राज्यले अन्त्य गर्न सक्ने उनको बुझाइ छ। ‘खासमा भन्ने हो भने सार्वजनिक यातायातको व्यवस्थापन सरकारले राम्रोसँग गर्नु पर्यो,‘ उनको भनाइ छ, ‘यसो भयो भने मोटरसाइकल मात्र हैन अन्य निजी सवारी साधनको पनि प्रयोग घट्छ र दुर्घटना पनि घट्छ।’
उपत्यका ट्राफिक कार्यालयका डिएसपी केशर न्यौपाने मोटरसाइकलको बढ्दो दुर्घटनाले चिन्ता बढाएको सुनाउँछन्। ‘दसैँ आउँदै छ, मोटरसाइकल झनै बढ्ने छ,’ उनले भने, ‘यसको व्यवस्थापनको लागि स्पष्ट नीति नआउँदा हामी त सिठी फुक्ने बाहेक केही गर्न सक्ने स्थितिमा छैनौँ।’

आर्थिक वर्ष २०८१/८२ मा मात्र उपत्यकाभित्र सवारी दुर्घटनामा ज्यान गुमाउने १ सय ९० जनामध्ये १ सय २८ जना दुई पाङ्ग्रे सवारीसँग सम्बन्धित रहेको न्यौपानेले जानकारी दिए। यस अवधिमा उपत्यकाभित्र भएका ७ हजार १ सय ६९ वटा दुर्घटनामध्ये ६ हजार ५ सय ३७ दुर्घटना मोटरसाइकल वा स्कुटरसँग सम्बन्धित रहेको उनले जानकारी दिए।
‘उपत्यकामा १० लाखभन्दा बढी मोटरसाइकल गुड्ने अनुमान गरेका छौँ,’ उनले थपे, ‘अझ राइड सेयरिङको कारण झनै समस्या भएको छ।’ आफूहरूले दुर्घटना र समस्याको बारेमा सरोकारवाला निकायलाई जानकारी गराएको बताउँदै उतैबाट स्पष्ट नीति निर्देशन नआएसम्म प्रहरीले मात्र केही गर्न नसक्ने स्थिति रहेको उनले बताए।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी प्रतिकूल अवस्थामा पनि ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा सडकमा दिन रात खटेको बताउँछन्। ‘हामीसँग धेरै कुराको अभाव छ र पनि हामी भएको जनशक्ति र प्रविधिबाट दुर्घटना न्यूनीकरणको लागि प्रयासरत छौँ,’ उनले भने, ‘सरोकारवाला अन्य निकायले पनि हातेमालो गरे व्यवस्थापनमा सहजता हुने छ।’
सडक विज्ञ गजुरेल तीव्र गति, मोबाइल प्रयोग, ट्राफिक नियम उल्लङ्घनलगायतले मोटरसाइकल दुर्घटना बढेको सुनाउँछन्। त्यस्तै मादक पदार्थ सेवन, सडक संरचना लगायतले पनि दुर्घटना बढेको उनको बुझाइ छ। यी बाहेक सवारी साधनको अवस्थाले पनि दुर्घटना बढाउने काम गरेको उनको बुझाइ छ। यसमा पनि युवाहरूले अलि बढी हेलचेक्राइँ गर्ने गरेको देखिन्छ।

अहिले १६ वर्ष उमेर पुगेपछि मोटरसाइकलको लाइसेन्स पाइन्छ। दुर्घटनामा युवाहरू बढी पर्न थालेको तथ्याङ्क सार्वजनिक भएसँगै नयाँ आउन लागेको सवारी तथा यातायात ऐनको मस्यौदामा लाइसेन्सको न्यूनतम उमेर १८ वर्ष पुर्याउने प्रस्ताव गरिएको छ। तर त्यो कहिले लागु हुन्छ अहिले प्रस्ट छैन।
जानकारहरू दुर्घटनाको अर्को कारण उपत्यकामा बढ्दै गएको राइड शेयरिङलाई पनि औंल्याउँछन्। पछिल्लो समय यो सुविधा थपिए पनि एक अर्काको प्रतिस्पर्धा दुर्घटना निम्तिन थालेका छन्। ‘व्यवसायसँगै यात्रु बोक्न प्रतिस्पर्धा देखिन थालेको छ,’ गजुरेल भन्छन्, ‘जसले सडकलाई थप जोखिमयुक्त बनाएको छ।’
नेपालका सडकमा सुरक्षित यात्रा गर्न सकिने अवस्था बनाउन अब सरकार, प्रहरी, विज्ञ र चालक सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन्।
सडक विज्ञ गजुरेले दुर्घटना न्यूनीकरणको लागि सबैभन्दा पहिलो कुरा सार्वजनिक यातायातको व्यवस्थापनमै जोड दिन्छन्। त्यसको अलावा लाइसेन्स दिने तरिकामा सुधार, सडकको संरचनामा सुधार, सचेतना र स्मार्ट प्रविधि आवश्यक रहेको ठान्छन्।
‘राज्यले गम्भीर भएर समाधानको बाटोमा लाग्यो भने यो समस्या समाधान गर्न सकिन्छ,’ उनले भने, ‘नत्र दसैँको आगमनसँगै एक पटक उपत्यकामा फेरि भिडमाथि मोटरसाइकले भिड थपिने निश्चित छ।’
प्रकाशित: १५ भाद्र २०८२ १२:३८ आइतबार





