१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सडकमा दुईपांग्रेको त्रास

सडकमा दायाँबायाँ, अघिपछि चारैतिर मोटरसाइकल। अर्को सवारीसाधनसँग ठोक्किने पनि मोटरसाइकल, ठोक्याउने पनि मोटरसाइकल। राजधानीका सडकमा देखिने नियमित दृश्य हो यो। छिटोछरितो हुने भएका कारण राजधानी सहरमा दुईपांग्रे मोटरसाइकलको प्रयोग बढ्दो छ। मोटरसाइकलको आवश्यकता दर्शाउँदै काठमाडौं थलीका रूपक घिमिरे भन्छन्, ‘सार्वजनिक यातायातको भर छैन, मोटसाइकल नभए त अफिस समयमै पुग्न सकिन्न।’

मोटरसाइकल किन्न हिँडेका बेला जोरपाटी नजिकै भेटिएका उनले भने, ‘दसैंको अफर पनि सुरु भएको छ।’

राजधानीमा आधारभूत आवश्यकता जस्तै बन्दै गएका मोटरसाइकल र स्कुटर सुविधाका साधन मात्र नभई दुर्घटनाको कारक पनि बन्दैछन्। पछिल्लो तथ्यांकले दुईपांग्रे सवारीसाधन सडकमा ‘सबैभन्दा जोखिमयुक्त’ बन्दै गएको देखिन्छ। सडकमा ट्राफिक प्रहरीको सक्रियता पनि कम छैन तर दुईपांगे्र सवारीसाधन दुर्घटना न्यूनीकरण हुन सकिरहेको छैन। तीव्र गति, असावधानी, सवारीसाधनसँगै मोबाइल फोनको प्रयोग, मादक पदार्थ सेवन, सडक संरचना, ट्राफिक नियम उल्लंघन, सवारीको अवस्थालगायत कारणले दुईपांग्रेको दुर्घटना बढ्दै गएको दाबी ट्राफिक प्रहरी र सडक विज्ञहरुको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी प्रतिकूल अवस्थामा पनि ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा सडकमा दिनरात खटेको बताउँछन्। ‘हामी धेरै कुराको अभाव भए प िभएको जनशक्ति र प्रविधिबाट दुर्घटना न्यूनीकरण गर्न प्रयासरत छौं,’ उनले भने, ‘सरोकारवाला अन्य निकायले पनि हातेमालो गरे व्यवस्थापनमा सहज हुनेछ।’

सडकविज्ञ आशिष् गजुरेल दुईपांग्रे सवारीसाधन आफैंमा जोखिमयुक्त रहेको र त्यसमाथि अनुशासन पालना नगरी चलाउँदा दुर्घटना हुने गरेको बताउँछन्। ‘कुल सवारीसाधनमध्ये ८० प्रतिशत मोटरसाइकल र स्कुटर रहेको अनुमान छ,’ उनले भने, ‘धेरै संख्यामा भएपछि दुर्घटना पनि धेरै हुने नै भयो।’

युवाको रोजाइ मोटरसाइकल भएको तर गतिको सीमा नियन्त्रण, सडक अनुशासन पालना नगर्दा दुर्घटना बढेको उनको बुझाइ छ। ‘मोटरसाइकलले अर्को सवारीलाई ठक्कर दिँदा होस् या अर्को सवारीले मोटरसाइकललाई ठक्कर दिँदा, दुवैमा पहिला मोटरसाइकल नै ढल्छ,’ उनी भन्छन्, ‘त्यसैले सुरक्षा उपायमा ध्यान दिनु जरुरी छ।’

 मोटरसाइकल दुर्घटनामा मानवीय क्षति कम गर्न चालकसहित उसको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य हुनुपर्ने उनको सुझाव छ।

सार्वजनिक यातायातको व्यवस्थापन राम्रो गर्न नसके मोटरसाइकल र स्कुटरको प्रयोग अझै बढ्दै जाने उनी बताउँछन्। ‘खासमा भन्ने हो भने सार्वजनिक यातायातको व्यवस्थापन सरकारले राम्रोसँग गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘त्यसो भयो भने मोटरसाइकल मात्र हैन, अन्य निजी सवारीसाधनको प्रयोग पनि घट्छ र दुर्घटना पनि घट्छ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी केशर न्यौपाने मोटरसाइकलको बढ्दो दुर्घटनाले चिन्ता बढाएको सुनाउँछन्। ‘दसैं आउँदै छ, सडकमा मोटरसाइकल झनै बढ्नेछन्,’ उनले भने, ‘यसको व्यवस्थापनका लागि स्पष्ट नीति नआउँदासम्म हामी त सडकमा सिठी फुक्नेबाहेक केही गर्न सक्ने स्थितिमा छैनौं।’

आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाएका एक सय ९० जनामा एक सय २८ जना दुईपांग्रे सवारीसँग सम्बन्धित रहेको जानकारी न्यौपानेले दिए। सोही अवधिमा उपत्यकाभित्र भएका सात हजार एक सय ६९ वटा दुर्घटनामा ६ हजार पाँच सय ३७ दुर्घटना मोटरसाइकल/कुटरसँग सम्बन्धित रहेको उनले बताए। ‘उपत्यकामा १० लाखभन्दा बढी मोटरसाइकल रहेको अनुमान गरेका छौं,’ उनले भने, ‘अझ राइड सेयरिङका कारण झनै समस्या भएको छ।’

अहिले १६ वर्ष उमेर पुगेपछि आवश्यक प्रक्रिया पूरा गरी मोटरसाइकलको लाइसेन्स लिन पाइन्छ। दुर्घटनामा युवा बढी परेको तथ्यांक सार्वजनिक भएको छ। त्यसैले सवारी तथा यातायात ऐनको मस्यौदामा लाइसेन्स पाउन सकिने न्यूनतम उमेर १८ वर्ष पुर्‍याउन प्रस्ताव गरिएको छ।

जानकारहरू दुर्घटनाको कारणमा उपत्यकामा बढ्दै गएको राइड सेयरिङलाई पनि औंल्याउछन्। राजधानीमा पछिल्लो समय यो सुविधा थपिएको हो। व्यवसायसँगै प्रतिस्पर्धाले दुर्घटना निम्तिन थालेका छन्। ‘व्यवसायसँगै यात्रु बोक्न प्रतिस्पर्धा देखिन थालेको छ,’ गजुरेल भन्छन्, ‘जसले सडकमा थप जोखिम निम्ताएको छ।’

सडक यात्रा सुरक्षित बनाउन अब सरकार, प्रहरी, विज्ञ र चालक सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता उनी औंल्याउछन्। दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा पहिलो कुरा सार्वजनिक यातायात सहज र सुलभ बनाउनुपर्नेमा उनी जोड दिन्छन्। सडक दुर्घटना घटाउन लाइसेन्स दिने तरिकामा सुधार, सडकको संरचनामा सुधार, सचेतना र स्मार्ट प्रविधि आवश्यक रहेको उनी बताउँछन्। ‘राज्य गम्भीर भयो भने यो समस्या समाधान गर्न सकिन्छ,’ उनले भने।

प्रकाशित: १६ भाद्र २०८२ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App