जिल्ला प्रशासन कार्यालय कलैया बाराले पहिलो पटक आमाको नामबाट दुई जनालाई बिहीबार अंगीकृत नेपाली नागरिकता वितरण गरेको छ।
कलैया उपमहानगरपालिका–५ निवासी कान्ती देवी कुर्मीको नामबाट उनका छोरा सुरत राउत र कलैया उपमहानगरपालिका–४ निवासी चन्दकुमारी क्षेत्रीका नामबाट उनका छोरा सागर सिंहलाई अंगीकृत नेपाली नागरिकता वितरण गरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन्।
नेपाल नागरिकता नियमावली २०६३ को नियम ७ को उप नियम (५) बमोजिम दुवै जनालाई आमाको नामबाट अंगीकृत नेपाली नागरिकता वितरण गरिएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय कलैया, बारामा आमाको नामबाट नागरिकता लिनका लागि सेवाग्राहीहरूले पेस गरेको प्रमाण पत्रका आधारमा अहिले दुई जनालाई मात्रै अंगीकृत नागरिकता वितरण गरिएको प्रजिअ मिश्रले बताए।
आमाको नामबाट नागरिकता पाएपछि कलैया ४ निवासी सागर सिंहले वर्षौँदेखिको नागरिकता पाउने सपना आज पूरा भएको बताए।
नागरिकता पाएसँगै नेपालमा नागरिक बनेर बाच्ने आधार बनेको उनले खुसी व्यक्त गरे।
प्रकाशित: २९ माघ २०८२ १६:२५ बिहीबार





