रौतहटको गरुडा नगरपालिका ५ शिवनगरस्थित लमाहा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । शिवनगर मन्दिरको उत्तरतिर खोलामा नुहाउने क्रममा दिउँसो करिब १ बजेतिर दुई बालकको मृत्यु भएको हो ।
रौतहटको देवाही गोनाही नगरपालिका ३ घर भई हाल गरुडा नगरपालिका ५ शिवनगरमा टिभिएस मोटरसाइकलको शो रुम सञ्चालन गरिरहेका संजीव साहका करिब १० वर्षका छोरा नीरज साह र उनका दाजु राजकिशोर साहका छोरा करिब १० वर्षका अर्जुन साहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्मी बढेपछि खाना खाएर नुहाउन गएका दुवै जना नुहाउँदा नुहाउँदै डुबेको स्थानीयको भनाइ छ । सँगै नुहाइ रहेका दुवै जना गहिरो पानीमा डुबेको देखेर स्थानीय बालबालिकाले अभिभावकलाई भनेपछि स्थानीयले दौडेर पानीबाट उद्धार गर्न खोजेका थिए ।
निकै बेर पानीमा खोजेपछि दुवै बालकलाई स्थानीयले अचेत अवस्थामा पानीबाट निकालेका थिए । बाहिर निकालेर पेट थिच्ने र मुखमा हावा दिने काम गरे पनि सम्भव नभएपछि स्थानीय याशिव संजीवनी अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएपछि चिकित्सकले दुबै बालकलाई मृत घोषणा गरेका थिए ।
पानीमा डुबेर मृत्यु भएका दुवै बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ ।
प्रकाशित: १ कार्तिक २०८२ १६:५२ शनिबार





