नेपालमा रासायनिक मलको अभाव चुलिएपछि भारतबाट मल खरिद गरेर ल्याउने क्रममा दुई नेपाली किसान भारतीय सशस्त्र सीमा बल (एसएसबी) को नियन्त्रणमा परेका छन्।
भारतको बिहार राज्यअन्तर्गत सोनबरसा प्रखण्ड मा कृषि विभाग र एसएसबीले संयुक्त रूपमा सञ्चालन गरेको कारबाहीका क्रममा सर्लाहीको धनकौल गाउँपालिका–३ निवासी नागेन्द्र प्रसाद सिंह र सुरेश प्रसाद सिंह पक्राउ परेका हुन्। उनीहरूको साथबाट दुई बोरा युरिया र छ बोरा डीएपी मल बरामद भएको भारतीय पक्षले जनाएको छ।
भारतीय प्रशासनका अनुसार भारत सरकारले आफ्ना किसानलाई अनुदानमा उपलब्ध गराउने रासायनिक मल नेपालतर्फ लैजाँदै गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। भारतमा अनुदान प्राप्त कृषि सामग्री विदेशी मुलुकतर्फ निकासी गर्न कानुनी प्रतिबन्ध रहेकाले सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षा निकायले यस्ता गतिविधिमाथि कडा निगरानी गर्दै आएका छन्।
यसैबीच, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी ले दुई नेपाली नागरिक भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे सर्लाही प्रशासनले गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ र आवश्यक कूटनीतिक पहल अघि बढाइएको छ।
प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार भारतीय अधिकारीहरूले बरामद मलसहित दुवै नेपाली नागरिकलाई सितामढी जिल्ला अदालतमा उपस्थित गराएका छन्। अदालतको आदेशपछि उनीहरू रिहा हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।
नेपालमा खेतीपातीको मुख्य सिजनमै रासायनिक मलको आपूर्ति सहज हुन नसक्दा सीमावर्ती जिल्लाका किसान भारतीय बजारमा निर्भर हुन बाध्य छन्। यही बाध्यताले सीमापारबाट मल ल्याउने प्रयास गर्दा उनीहरू कानुनी झमेलामा पर्ने अवस्था दोहोरिँदै आएको सरोकारवालाहरू बताउँछन्।
प्रकाशित: २४ असार २०८३ १७:०५ बुधबार





