५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

दुई विदेशी पर्वतारोही एक सातादेखि बेपत्ता

फाइल तस्बिर

मनाङस्थित हिमाल चढ्न गएका दुई विदेशी पर्वतारोही एक हप्तादेखि बेपत्ता छन्। उनीहरू गत बिहीबारदेखि सम्पर्कविहीन भएका हुन्।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिराम खनालका अनुसार उनीहरू सात हजार १४० मिटर अग्लो गंगापूर्ण पश्चिम चुचुरो चढ्ने क्रममा बेपत्ता भएका हुन्। उनीहरू ४० र २५ वर्षका पुरुष हुन्। दुवै जापानी नागरिक रहेको खुलेको छ।

उनीहरू काठमाडौंस्थित कस्मो एड्भेन्चरमार्फत आरोहणमा गएका थिए। उनीहरूसँगै गएका नेपाली गाइडले गत शुक्रबार कम्पनीलाई उनीहरू सम्पर्कविहीन भएको जानकारी दिएका थिए।

उद्धारकर्मीहरूले हेलिकप्टरबाट उनीहरूको खोजी गरिरहेका छन्। खोजीका क्रममा हिमालमा उनीहरूले प्रयोग गरेको झोला र लौरो फेला परेको छ। तर, दुवै पर्वतारोही कहाँ छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने पत्ता लाग्न सकेको छैन।

अधिकारीहरूका अनुसार उनीहरूसँग अन्तिम पटक सम्पर्क हुँदा उनीहरू करिब सात हजार १०० मिटरको उचाइमा थिए। हिमालको कठिन भूगोल र मौसमका कारण खोजीमा चुनौती भइरहेको छ।

नेपालस्थित जापानी दूतावासले पनि बेपत्ता पर्वतारोहीका परिवारसँग सम्पर्क गरेर सहयोग गरिरहेको जनाएको छ। एक अधिकारीले भने, ‘हामी बेपत्ता पर्वतारोहीका परिवार र सम्बन्धित अन्य व्यक्तिसँग सम्पर्कमा रहेर सकेसम्म सहयोग गरिरहेका छौं।’

उद्धार टोलीले शुक्रबार थप खोजी अभियान चलाउने वा नचलाउने भन्नेबारे छलफल गरिरहेका छन्। एजेन्सी

प्रकाशित: ५ कार्तिक २०८३ १८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App