खोटाङमा विद्युतीय झटका (करेन्ट) लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको निधन भएको छ।
जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा करेन्ट लागेर ४३ वर्षीय आनन्द राईको निधन भएको छ भने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा भीरबाट लडेर ४५ वर्षीय सुनिल कार्कीको निधन भएको छ।
बुधबार गाउँमा विद्युत अवरुद्ध भएपछि मर्मत गर्न ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेका राईलाई करेन्ट लाग्दा घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ। वडाध्यक्ष बबेन्द्र राईका अनुसार विद्युत अवरुद्ध भएका कारण मर्मत गर्न पोल चढ्दा एक्कासी करेन्ट लागेर भुईमा खसेका थिए।
तत्काल गाउँलेले उद्धार गरी उपचारार्थ नजिकको स्वास्थ्य संस्थामा लग्दा उनको मृत्यु भइसकेको वडाध्यक्ष राईले बताएका छन्। नजिकको प्रहरीलाई खबर गरेर उनको शव पोष्टमार्टमका लागि सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल ल्याइएको छ।
त्यसैगरी, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका कार्की खानेपानी मर्मत गर्न जाँदा भीरबाट लडेर ज्यान गुमाउन पुगेको प्रहरीले जनाएको छ। वर्षाले पहिरो गएर खानेपानीको मुहान बिग्रेपछि गाउँमा खानेपानी आउन छाडेपछि उनी मर्मत गर्न गएका थिए।
हलेसी तुवाचुङ ५ र ७ नं. वडा सीमानामा रहेको रावापानीस्थित पानीको मुहान सफा गर्न गएका कार्कीको बाटोमा पर्ने भीरबाट लडेर निधन भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए। मुहान सफा गर्न बुधबार दिउँसो घरबाट हिँडेका उनी साँझसम्म नफर्केपछि खोज्दै जाँदा भीरबाट लडेर करिब २५ मिटर तल मृत फेला परेको गिरीले बताएका छन्।
उनको शव पनि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्की त्रिधार्मिकस्थल हलेसी बजारमा लक्ष्मी होटल व्यवसायी रहेको बताइएको छ।
प्रकाशित: २४ वैशाख २०८३ १४:०५ बिहीबार





