१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

दुई दिनको वर्षाले किसानलाई राहत

सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले बल्ल राहत महसुस गरेका छन्।  

गत शुक्रबार र शनिबार परेको पानीले जग्गामा पर्याप्त चिस्यान बनाएपछि खेतीपातीका काम अघि बढ्ने आशले किसानलाई राहत मिलेको हो। पछिल्लो वर्षाले यसअघि पानी बेगर पहेँलिँदै गएका बालीनालीलाई अमृतकै काम गरेको किसान बताउँछन्। 'जग्गा रुखिएर खनजोत गर्न पाइएको थिएन, वैशाखी तरकारीका लहरा र बोट ओइल्याउँदै थिए', भङ्गाहा–४ का ६० वर्षीय किसान शुभनारायण ठाकुरले भने, 'पछिल्लो वर्षाले निकै राहत दियो।'  

वर्षा हुनअघि ओइल्याउँदै गएका वैशाखी तरकारीका लहरा एक दिनमै फेरिएर लहलहाउन लागेका ठाकुरको भनाइ छ। दुई दिनको वर्षापछि आइतबार मौसम उघ्रनासाथ खेतीपातीका काममा लाग्न किसानलाई सजिलो भएको छ।

पछिल्लो वर्षाले खेतबारीमा लागेको बालीलाई पर्याप्त चिस्यान भएको र अब बर्खे धान र अन्य बाली लगाउन जग्गा खनजोत गर्न सकिने किसान बताउँछन्। 'पानी नपाएर उखुका बोट सुक्दै थिए, पानी परेर निकै राहत मिल्यो', बर्दिबास–७ मनहरिपुरका ३० वर्षीय युवा किसान निरबहादुर खत्री भन्छन्, 'अब बर्खे धान, मकै, कोदो र जुनेलोसहितका बाली लगाउन खेतबारी खनजोत गर्न थालिन्छ।' पछिल्लो वर्षाले आँप, लिची र रूखकटहरसहितका गर्मीयामका फललाई औधी राहत मिलेको किसानको भनाइ छ।  

'पानी नपर्दा आँप र लिचीका मज्जर (फुल, मञ्जरी) र चिचिलामा मधुवा (यी फलमा लाग्ने एक प्रकारको डढुवा रोग) लागेर सखाप पार्दै थियो, पानी परेपछि फलका बोटका हाँगाबिँगामा लागेको जालो र मधुवा पखालिएपछि केही राहत मिलेको छ', बर्दिबास–५ चेरुका ७० वर्षीय फलफूल किसान होतराज घिमिरे भन्छन्, 'अब भने मधुवाको उपचारले काम गर्ला।' फलफूलका बोटका जरामा पर्याप्त चिस्यान भएपछि दाना पोटिलो हुनेसँगै रोगको आक्रमण पनि कम हुने किसानको विगत अनुभव छ।

गत शुक्रबार साँझपख वर्षा हुनअघि चलेको हावाहुरीले बालीनालीमा सामान्य क्षति गरेको छ। खासगरी घोगा लाग्न सुत्ला चेपेका मकैका बोट लडाउनसँगै ठाउँठाउँमा वैशाखी तरकारीका लहरा हुरीले हुत्याएर चुँडाएको किसानले बताएका छन्। तर पानी पर्न थालेपछि हावाहुरी रोकिएको हुँदा धेरै क्षति नभएको किसानको भनाइ छ। शुक्रबार साँझ र शनिबार दिनभरि पानी पर्दा खेतबारीमा अब केही समयका लागि चिस्यान रहने किसानले आस सँगालेका छन्।

यसपालि हिउँदमा पानी नपर्दा फागुन मध्यदेखि नै चर्कंदै गएको गर्मीको राप पछिल्लो वर्षाले निकै घटाएको छ। बालीनालीलाई अनुकूल हुनसँगै मौसम केही चिसिँदा कामकाजमा जुट्न पनि निकै सजिलो भएको यहाँका किसान बताउँछन्। अबका आउने केही महिना खेतीपातीका लागि व्यस्त समय रहने हुँदा बेलाबेलामा अनुकूल वर्षा भइरहोस् भन्ने किसानको मनमा छ। वर्षा मात्र पनि अनुकूल भइदिँदा उत्पादनमा निकै राम्रो प्रभाव रहने बर्दिबास–६ कृष्णपुरका पाका किसान ६५ वर्षीय रघु काफ्लेको भनाइ छ।

जिल्लामा जम्मा ७१ हजार हेक्टर कृषियोग्य जग्गा भए पनि १० प्रतिशतमा मात्र कुलोनहरको पानी लाग्ने सिञ्चित जग्गा छ। अधिकांश जग्गा इनार, स्यालोट्युबवेल र बोरिङमा मोटर जडान गरेर किसानले बाली सिँचाइ गर्दै आएका छन्। लामो समयसम्म पानी नपर्दा यस्ता वैकल्पिक सिँचाइका स्रोतका मुहान चाँडै सुक्दा किसान समस्यामा पर्दै आएका छन्। यसरी वैकल्पिक सिँचाइका साधनसमेत जोडिँदा जिल्लामा करिब २० प्रतिशत जग्गा सिञ्चित रहेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ। यसबाहेकका ८० प्रतिशत जग्गा आकासे पानीकै भरमा गर्नुपर्दा किसान बालीनाली लगाउन र बचाउन वर्षा पर्खनुपर्ने अवस्थामा छन्।

प्रकाशित: ९ चैत्र २०८२ १७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App