अत्यधिक चिसो र शीतलहरका कारण शुक्लाफाँटा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ।
विगत केही दिनदेखि चलिरहेको तीव्र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयको नियमित पठनपाठनमा अवरोध सिर्जना भएकाले विद्यालयमा बिदा दिइएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार बढ्दो चिसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै पुस १७ र १८ गते विद्यालयमा बिदा दिइएको छ।
‘चिसोका कारण साना बालबालिका बढी प्रभावित हुने देखिएकाले दुई दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेका हौँ’, विष्टले भने।
पछिल्लो समय कञ्चनपुरसहित तराईका जिल्लामा बाक्लो कुहिरो र शीतलहरले चिसो बढेको छ। शुक्लाफाँटा अघि जिल्लाका अन्य स्थानीय तह वेदकोट, कृष्णपुर र भीमदत्त नगरपालिकाले पनि बढ्दो चिसोकै कारण विद्यालयमा बिदा दिइसकेका छन्।
शुक्लाफाँटामा २८ सामुदायिक र २५ संस्थागत विद्यालय छन्।
प्रकाशित: १६ पुस २०८२ २१:१६ बुधबार





