३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

सप्तकोशी नदीमा बाससँगै बगाउँदै ल्याएको गाँजासहित दुई पक्राउ

सप्तकोशी नदीबाट प्रहरीले नियन्त्रणमा लिएको गाँजा।

सप्तकोशी नदीमा बाससँगै बगाउँदै गाँजा ल्याउने क्रममा दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ६ पटवारीमा सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले नौ वटा प्लाष्टिकको बोरामा रहेको गाँजा नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएको प्रहरी टोलीले २२५ केजी गाँजासहित बराहक्षेत्र वडा नं. ६ का २० वर्षे विशेष माझी र सोही ठाउँका १८ वर्षे रोशन श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले सप्तकोशी किनारमा लुकाई छिपाई राखेको को ३० प ९४७५ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ।

यसैबीच, इनरुवा वडा नं. १० मा बुधबार बिहान कारबाट १५ किलोभन्दा बढी गाँजा बरामद भएको छ। प्रहरीका अनुसार को १ च ३६११ नम्बरको कारबाट गाँजा बरामद गरेको हो। प्रहरीले सूचनाका आधारमा भारतीय सीमावर्ती क्षेत्र देवानगञ्जबाट पिछा गर्दै इनरुवा वडा नं. १० मा आइ पुगेपछि चेकजाँच गरेको थियो।

कारलाई रोकेर जाँच गर्न खोज्दा चालकले प्रहरीलाई देख्नासाथ गाडी भगाउन प्रयास गरेका थिए। प्रहरीले लखेट्दै गएपछि चालक कार छाडेर फरार भएको प्रहरीले जनाएको  छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार गाडीमा दुई जना रहेको र ती भाग्न सफल भएकाले गर्दा अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ वैशाख २०८३ १८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App