३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरिएको जानकारी दिएका छन्।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

यसअघि केही प्राविधिक कारणले उपनेता चयनको निर्णय सार्वजनिक गर्न छुटेको बताउँदै उनले आजैदेखि लागू हुने गरी पराजुलीलाई सो जिम्मेवारी दिइएको प्रष्ट पारे।

सभापति लामिछानेले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्नेमा जोड दिएका छन्। आफूहरूले सम्पत्ति छानबिन आयोग गठन गरिसकेको उल्लेख गर्दै उनले कोही पनि छानबिनको दायराभन्दा बाहिर नरहेको स्पष्ट पारे।

‘हामी कोही पनि पब्लिक अडिट र छानबिनबाट बाहिर छैनौं,’ लामिछानेले भने, ‘मेरो त बैंक स्टेटमेन्ट नै सार्वजनिक छ। अरूलाई जे नियम लागू हुन्छ, रास्वपाका नेतालाई पनि त्यही नियम लागू हुन्छ, हामी कोही अलग होइनौं।’

संसद्को गतिविधिका सम्बन्धमा बोल्दै उनले संसद् मर्यादित र सक्रिय ढंगले अगाडि बढ्नुपर्ने बताए। आवश्यक कानुन निर्माण र परिमार्जनमा संसद्ले विवेकपूर्ण भूमिका खेल्नेमा आफू आशावादी रहेको उनले उल्लेख गरे।

सार्वजनिक लेखा समितिको नेतृत्वका विषयमा बोल्दै गर्दै उनले संविधानको मर्मअनुसार प्रमुख प्रतिपक्षी दललाई यस्तो जिम्मेवारी दिनु लोकतान्त्रिक मूल्य मान्यताअनुरूप हुने धारणा राखे।

उनले समाजमा व्याप्त बेथिति र विभेदका ‘खिल’ हरू निकाल्ने वर्षका रूपमा आफूहरूले काम गरिरहेको सुनाए।

प्रकाशित: ३ वैशाख २०८३ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App