बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित नेपालगन्ज–९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
उनले ने १ ह ४५०२ नंको ई–रिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको बताए।
दुवै जनामाथि थप अनुसन्धान सुरु भएको र उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। दुई दिनअघि मात्र प्रहरीले गोली चलाएर लागूऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको थियो। तीमध्ये दुईजना भारतीय नागरिक छन्। रासस
प्रकाशित: १ भाद्र २०८२ २१:५९ आइतबार





