राजनीतिक प्रणाली जति बढी केन्द्रीकृत हुन्छ, राष्ट्रिय हित र लक्ष्य नेताका व्यक्तिगत चाहना, इच्छा र असुरक्षाको छायामा पर्ने सम्भावना त्यति नै बढ्छ। अहिले रुस, चीन र संयुक्त राज्य अमेरिकामा यस्तो प्रवृत्तिका विभिन्न रूपहरू देखिँदै छन्।
अधिनायकवादी व्यवस्थामा राष्ट्रिय हित र उद्देश्यहरू प्रायः नेताका विश्वास, चाहना र असुरक्षासँग ठोक्किन्छन्। शक्ति जति बढी केन्द्रीकृत हुन्छ, त्यति नै नेताका व्यक्तिगत आग्रहहरू हाबी हुने सम्भावना रहन्छ। यही गतिशीलताको रूप अहिले चीनमा देखिएको छ, जहाँ राष्ट्रपति सी चिनफिङले हालै तथाकथित संशयग्रस्त शुद्धीकरण अभियानअन्तर्गत जनमुक्ति सेनाका दुई उच्च अधिकारीलाई हटाएका छन्। रुस तथा संयुक्त राज्य अमेरिकामा पनि त्यही प्रवृत्ति देखिन्छ।
सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णय यस प्रवृत्तिको स्पष्ट उदाहरण हो। केही वर्षअघि मात्र रुस वित्तीय प्रविधिमा विश्वव्यापी शक्ति बन्दै थियो। ब्रान्ड फाइनान्स बैंकिङ ५०० को सूचीमा रुसी सरकारको स्वामित्व रहेको स्बेरबैंकलाई विश्वकै सबल बैंकिङ ब्रान्डका रूपमा मूल्यांकन गरिएको थियो। सन् २०१९ मा रुसी प्रत्यक्ष लगानी कोषले एआई समाधान विकास गर्ने घरेलु कम्पनीहरूलाई सहयोग गर्न विदेशी लगानीकर्ताबाट दुई अर्ब डलर उठाएको जनाएको थियो, जुन रुसको स्टार्टअप पारिस्थितिकी प्रणाली सुदृढ गर्ने व्यापक प्रयासको हिस्सा थियो।
पुटिनले सन् २०२० मा उच्चस्तरीय प्रविधिमार्फत रुसको विशिष्ट सभ्यताको भविष्य सुरक्षित गर्न आवश्यक रहेको बताएका थिए। तर बौद्धिक स्वतन्त्रता र विश्वव्यापी ज्ञानमा पहुँचबिना प्रविधिगत नवप्रवर्तन फस्टाउन सक्दैन। पुटिनको महाशक्ति–कल्पनाबाट जन्मिएको युक्रेन युद्धले यी दुवै आधारलाई ध्वस्त बनायो। यसले रुसको सैनिक उद्योग र अधिकारी संरचनामा रहेको भ्रष्टाचार पनि उजागर गर्यो। युद्धका प्रारम्भिक महिनामा कमजोर उपकरण र असफल रणनीति प्रकट भए। त्यसपछि सैनिक अधिकारी र कर्पोरेट प्रमुखहरूको व्यापक शुद्धीकरण अभियान चलाइयो, जुन सोभियत संघ पतनपछि देखिएको थिएन।
आज रुस क्षयग्रस्त युद्धमा अल्झिएको छ। पुटिन अझै प्रविधिगत नेतृत्वको कुरा गर्छन्, जबकि देश उल्टो औद्योगिकीकरणको बाटोमा देखिन्छ, जहाँ उच्च प्रविधिभन्दा सैनिक–औद्योगिक क्षेत्रका श्रमप्रधान उद्योगहरू अघि बढिरहेका छन्।
पुटिनझैं चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि ऐतिहासिक हीनताबोध र साम्राज्यवादी विरासतका आकांक्षाबिच आफ्ना व्यक्तिगत आग्रह र कमजोरीलाई नीतिमा झल्काइरहेका छन्। यो विशेषतः ताइवानसँगको पुनर्मिलन योजनामा देखिन्छ। तर आफ्ना शक्तिशाली जनरलहरू वा अलीबाबाका ज्याक माजस्ता कर्पोरेट हस्तीहरूलाई हटाउने प्रवृत्ति नै उनको सबैभन्दा कमजोर कडी बन्न सक्छ।
सन् २०१२ मा सत्तामा आएपछि सीले भ्रष्टाचारविरुद्धको अभियानका नाममा दुई लाखभन्दा बढी अधिकारी हटाइसकेका छन्, जसमा धेरै सैनिक अधिकारी पनि समावेश छन्। गत अक्टोबरमा मात्र नौ जना जनरललाई अनुशासन उल्लंघन र कर्तव्यसम्बन्धी आरोपमा हटाइएको थियो। सन् २०२३ यता ४२ उच्च सैनिक नेतामध्ये २९ जना बर्खास्त गरिएका छन् र केही बेपत्ता छन्। हालै झाङ योसिया र लिउ झेन ली पनि अनुसन्धानमा परेका छन्। यी कारबाहीले जनमुक्ति सेनामा वास्तविक युद्ध–अनुभव भएका वरिष्ठ अधिकारीहरूको अभाव सिर्जना गरेको छ।
सीको यो संशयले चीनले ठुलो मूल्य चुकाउनुपर्ने जोखिम देखिन्छ। सैन्य नेतृत्वमा शक्ति–शून्य अवस्था सिर्जना गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। यो पाठ जोसेफ स्टालिनले सन् १९३६–१९३८ को ‘ग्रेट टेरर’पछि सिकेका थिए, जब रेड आर्मीका शीर्ष जनरलहरू हटाइँदा सोभियत संघ नाजी आक्रमणप्रति कमजोर बनेको थियो।
त्यतिबेला रेड आर्मीका शीर्ष १०० एडमिरल र जनरलमध्ये ८० जना तथा झन्डै ३० हजार सैनिक सदस्यलाई मृत्युदण्ड दिइएको थियो। हटाइएका अधिकारीहरूमा रेड आर्मीका आधुनिकीकरणकर्ता मार्सल मिखाइल टुखाचेभ्स्की, भासिली ब्लुखेर र अलेक्जेन्डर येगोरोभ थिए, जसलाई स्टालिनलाई सत्ताच्युत गर्न जर्मनीसँग षड्यन्त्र गरेको आरोप लगाइएको थियो।
युरोपमा युद्ध सुरु हुँदा सक्षम सैन्य नेतृत्वको चरम अभाव भएपछि रेड आर्मी यति निराश बनेको थियो कि हटाइएका कमान्डरमध्ये एक मार्सल कोन्स्टान्टिन रोकोसोभ्स्कीलाई सन् १९४० मा पुनः उच्च कमान्डमा फर्काइयो। पछि उनले सन् १९४५ मा बर्लिनतर्फको अन्तिम आक्रमणमा रेड आर्मीको एक प्रमुख फौजको नेतृत्व गरे।
सन् १९५६ मा निकिता ख्रुस्चेभले सोभियत कम्युनिस्ट नेताहरूलाई दिएको ऐतिहासिक गोप्य भाषणमा यसअघि उजागर नभएको सत्य स्पष्ट पारे। आफ्नै सत्ता जोगाउने स्टालिनको आतुरताले सोभियत संघलाई नाजी आक्रमणप्रति कमजोर बनाएको र सम्भवतः दोस्रो विश्वयुद्ध लम्ब्याएको उनको भनाइ थियो।
तर यो महत्त्वपूर्ण पाठलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेवास्ता गरिरहेका छन्। पहिलो कार्यकालमा उनले जेम्स म्याटिस, जोन केली र एचआर म्याकमास्टरजस्ता सम्मानित जनरलहरूलाई साथमा राखे। तर पछि उनीहरूको गैरराजनीतिक सैन्य मान्यताप्रति असन्तुष्ट हुँदै उनीहरूलाई हटाइयो।
दोस्रो कार्यकालमा ट्रम्पले त्यस्तो गल्ती दोहोर्याउन नचाहेको देखिन्छ। त्यसैले ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) विचारधाराप्रति पूर्ण निष्ठावान पिट हेगसेथलाई रक्षा सचिव नियुक्त गरियो। योग्यता विवादित भए पनि निष्ठालाई प्राथमिकता दिइयो। निष्ठाले गल्तीहरू ढाक्ने अवस्था सिर्जना गर्यो।
स्पष्ट छ, निष्ठावान तर अयोग्य व्यक्तिलाई सैन्य नेतृत्वमा राख्दा सन्तुलन र आलोचनात्मक सल्लाह कमजोर हुन्छ। यसले कमजोर विदेश नीतिको जोखिम बढाउँछ। ट्रम्प प्रशासनले शक्ति प्रदर्शनलाई विदेशमा मात्र होइन, घरेलु रूपमा पनि प्राथमिकता दिएको देखिन्छ। यसले लोकतान्त्रिक संस्थाभन्दा व्यक्तिगत निष्ठालाई प्राथमिकता दिने प्रवृत्ति झल्काउँछ।
ट्रम्पले निष्ठाका नाममा अमेरिकाको हित कमजोर पारिरहेका छन्। फरक यति मात्र छ कि अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै छ। केवल ३७ प्रतिशत स्वीकृति दरसहित उनले बहुमत मतदाताको भावनालाई बेवास्ता गर्न सक्ने अवस्था छैन।
सारांशमा इतिहासले बारम्बार देखाएको छ– जब नेताको संशय र असुरक्षा राष्ट्रिय हितभन्दा माथि पुग्छ, अन्ततः देशले चर्को मूल्य तिर्नुपर्छ।
प्रकाशित: १४ फाल्गुन २०८२ ०७:३४ बिहीबार

