१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भाेटेकाेशी बाढी: त्रिशूली तटीय सभ्यता संकटमा

भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा सुनामीझैं तीव्र गतिको आएको भीषण बाढीले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍यायो। बाढीका कारण त्रिशूली नदीकिनारका घर, सडक, पुल, जलविद्युत् आयोजनाहरू, विद्यालय, व्यावसायिक संरचना तथा कृषि र पशुधनमा व्यापक क्षति पुगेको छ भने ठुलो संख्यामा मानवीय क्षति पनि भएको छ। बाढीले वर्षौंवर्षदेखि रहेका बस्तीको अस्तित्व नै संकटमा पारेको छ।

यसअघि विभिन्न ठाउँको प्राकृतिक भूगोलअनुसार मिलेर बसेका बस्ती मात्र नभएर तत्कालीन राजा पृथ्वीनाराण शाहले बाइसे/चौबिसे राज्य एकीकरणपछि विश्राम लिएको र उनकै समाधिस्थलसमेत रहेको नुवाकोटको ऐतिहासिक देवीघाट बजार तथा त्यसबेलाकै रणनीतिक एवं सामरिक नुवाकोट दरबारसँगको इतिहास जोडिएको त्रिशूली बजार पुरै बाढीले बगाएर बगरमा परिणत भएका छन्।

यी ठाउँमा परापूर्वकालदेखि भूगोलको बनोटअनुसार विकास गरिएका सहर विभिन्न समुदायको सांस्कृतिक सम्पदा एवं धार्मिक पवित्रस्थलले परिचित त्रिशूली, देवीघाट, बेत्रावती, मैलुङ र स्याफ्रुबेंसी बजारका मानवबस्ती पुरै उजाडिएका छन्। त्यहाँका स्थानीयवासीले अहिलेसम्म कहिल्यै नदेखेको ठुलो र तिब्बती क्षेत्रबाट अकल्पनीय रूपमा अचानक आएको अति शक्तिशाली बाढीले नदीको बहाव तीव्र बनाउँदै नदी आसपासका बजार तथा किनार कटान गरेपछि कयौं बस्ती खण्डहर बनेका हुन्।

रसुवाको रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, बेत्रावती हुँदै नुवाकोटको ऐतिहासिक एवं पुरानो बजार त्रिशूली, ढुंगे, देवीघाटलगायत क्षेत्रका स्थानीयले ज्यान जोगाउन घर छाडेर सुरक्षित स्थानतर्फ जानुपरेको छ।

बाढीप्रभावित क्षेत्रका कतिपय परिवारले पुस्तौंदेखि सञ्चय गरेको धनमाल तथा सम्पत्ति, घरायसी सामग्री र जीविकोपार्जनका आधारसमेत गुमाएका छन्। यस्तो प्राकृतिक विपत्तिमा परेकालाई जतिसक्दो छिटो उद्धार तथा राहत वितरणको उचित व्यवस्थापन हुनुपर्नेमा अहिले अपेक्षाकृत रूपमा त्यो नभइरहेको बाढीमा परेर जोगिएकाहरूको गुनासो छ।

यस बाढीबाट मुस्किलले बाँचेकाहरूले अब यो पुरानो बजार, धार्मिक स्थल र मन्दिरहरू तथा ऐतिहासिक एवं सांस्कृतिक मानवसभ्यता नै संकटमा परेको नुवाकोटका स्थानीय संस्कृतिविद् एवं जानकार रामकृष्ण डंगोलले बताए।

‘बाढीले सबै सखाप पारेपछि धन्न जोगिएकाहरू अब यी तटीय क्षेत्रमा सहजै फर्किने सम्भावना छैन,’ विदुर नगरपालिकाको ढुंगेबजारभन्दा केही माथि भेटिएका ८० वर्षीय डंगोलले भने, ‘बाढीबाट बाँचेकाहरूमध्ये धेरैका परिवारजन बेपत्ता छन्। उनीहरूको घर, व्यापार, खेतबारीलगायत सबै जायजेथा बालुवाले पुरिएका छन्।’

बाढीबाट जोगिएकाहरू पहिले आफू बसेको थातथलोमा फर्कलान् भन्ने आफूलाई नलागेको बताउँदै उनले बाढी प्रभावित उक्त क्षेत्रबाट स्थानीयको स्थानान्तरण नै मुख्य विकल्प हुन सक्ने धारणा राखे।

अहिले पनि त्रिशूली नदीमा पानीको बहाव बढेर थप जोखिम कायमै रहेकाले पनि अब यी तटीय क्षेत्रमा भएका पुरानो मानवसभ्यता नै संकटमा परेको डंगोलको भनाइ छ।

डंगोल मात्र नभएर अधिकांश स्थानीय जानकारहरूले आफ्नो पुस्ताले नै नदेखेको यस्तो अकल्पनीय बाढीको प्रभाव यहाँका भौतिक संरचनामा मात्र सीमित छैन। नदीकिनारमा विकसित स्थानीय समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक जीवन पनि गम्भीर रूपमा प्रभावित भएको बताइरहेका छन्। उनीहरूले यस बाढीको प्रभावबाट नेपाली नागरिकलाई आगामी दिनमा पनि यस्ता प्राकृतक विपत्तिबाट जोगिन अब के गर्नुपर्छ भन्ने खालको धेरै ठुलो पाठ सिकाएको बताए।

पुस्तौंदेखि कायम पुराना मानवबस्ती संरचना, स्थानीय परम्परा, धार्मिक तथा सांस्कृतिक स्थल र समुदायबिचको सम्बन्धमा समेत यसको दीर्घकालीन असर पर्ने देखिन्छ। त्यसैले यो विपद्लाई केवल प्राकृतिक प्रकोपका रूपमा नभई तटीय क्षेत्रको जीवनपद्धति र सभ्यतामाथिकै ठुलो संकटका रूपमा हेर्नुपर्ने उनीहरूको धारणा छ।

स्थानीय जानकारहरूका अनुसार धेरै संख्यामा मानवीय तथा भौतिक संरचना ध्वस्त भएको यस क्षेत्रमा बाढीको विपद्पछि उद्धार, राहत र पुनर्स्थापनाको कामलाई तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याए।

जोखिममा रहेका परिवारको तत्काल सुरक्षित स्थानान्तरणसँगै खाद्यान्न, स्वास्थ्य, खानेपानी र आवासको उचित व्यवस्था गर्नुपर्छ। दीर्घकालीन रूपमा भने नदीकिनारका जोखिमयुक्त बस्तीको वैज्ञानिक अध्ययन गरी सुरक्षित पुनर्वास, तट संरक्षण र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

भोटेकोसी र त्रिशूलीको बाढीले दिएको यो पीडादायी विपत्तिले विकास निर्माण र बस्ती विस्तार गर्दा प्राकृतिक जोखिमलाई बेवास्ता गर्न नहुने स्पष्ट सन्देश दिएको छ। प्रभावित बस्तीको पुनर्निर्माणसँगै त्यहाँको सामाजिक तथा सांस्कृतिक पहिचान जोगाउनु पनि राज्य र सम्बन्धित निकायको महत्त्वपूर्ण दायित्व हो भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ।

बाढीले रसुवा र नुवाकोट मात्र नभएर धादिङ, गोर्खा, चितवन लगायत तटीय क्षेत्रमा वर्षौंदेखिको बस्ती र सभ्यतामाथि नै गम्भीर धक्का पुर्‍याएको छ।

बाढीले रसुवागढीदेखि चितवनको नारायणी नदीभन्दा माथिका झन्डै तीन दर्जनभन्दा बढी सानाठुला पुल बगाएको छ। धेरै ठाउँको व्यापारिक केन्द्र तथा ठुला बजार, खेतीयोग्य जमिन र अन्य भौतिक संरचना बगरमा परिणत गर्दा कतिपय बस्तीको पुरानो स्वरूप नै ध्वस्त पारेको देखिन्छ।

बाढीको सबैभन्दा ठुलो असर नदीसँग प्रत्यक्ष जोडिएका बस्तीमा परेको छ। पुस्तौँदेखि नदीलाई जीवनको आधार बनाएर बसोबास गर्दै आएका परिवारहरू एकै झट्कामा घरबारविहीन भएका छन्। कतिपय स्थानमा घरका भग्नावशेषसमेत भेटिन कठिन भएको छ।

 त्यहाँ भएका सडक र पुल बग्दा आवागमनसमेत अवरुद्ध भएको छ। विद्युत्, खानेपानी तथा सञ्चार संरचनामा भएको क्षतिले तटीय क्षेत्र आसपालका स्थानीयको दैनिकीसमेत थप कष्टकर बनेको छ। रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुस्तौंदेखिका इतिहास, संस्कृति, सामाजिक सम्बन्ध र आर्थिक गतिविधि जोडिएका थिए। नदी किनारमा सञ्चालन हुँदै आएका होटल, पसल, कृषि तथा साना व्यवसायसमेत बाढीले सिध्याएपछि स्थानीय अर्थतन्त्रमा पनि दीर्घकालीन असर पर्ने देखिएको छ।

बाढीको विपत्तिले पछिल्लो समय यस्ता प्राकृतिक प्रकोपप्रति हाम्रो तयारी र नदीकिनारमा भइरहेको अव्यवस्थित बस्ती विस्तारबारे पनि गम्भीर प्रश्न उठाएको स्थानीय जानकार झम्कनाथ रिमालको भनाइ छ। उनले यो बाढीले तटीय बस्तीको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सभ्यताको एउटा अध्याय नै मेटिएको अनुभूति गराएको बताए।

प्रकाशित: १५ भाद्र २०८३ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App