क्यानडाको एक स्थानीय निकायले रूखलाई केवल प्राकृतिक सम्पत्ति नभई अधिकारसहितका जीवित प्राणी का रूपमा औपचारिक मान्यता दिएको छ। क्युबेक प्रान्तको मोन्ट्रियलबाट करिब ६५ किलोमिटर पश्चिममा रहेको उक्त नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा ऐतिहासिक कदम चालेको हो।
जलवायु परिवर्तन, बढ्दो तापक्रम, वन विनाश र जैविक विविधताको संकटको वर्तमान सन्दर्भमा क्यानडाको टेरास–भोद्रुइल नामक नगरपालिकाले गरेको यो निर्णयलाई विश्वभर वातावरण संरक्षणको नयाँ उदाहरणका रूपमा हेरिएको छ।
उक्त नगरपालिकाको नगर परिषद्ले गत जुन ९ मा सर्वसम्मत रूपमा पारित गरेको प्रस्तावमा रूखलाई ‘जीवन बाँच्ने, प्राकृतिक रूपमा बढ्ने, आफ्नो अखण्डता जोगाउने तथा पुनर्जीवित हुने अधिकार रहेको’ घोषणा गरिएको छ। यससँगै टेरास–भोद्रुइल यस प्रकारको निर्णय गर्ने क्यानडाको पहिलो नगरपालिका बनेको छ।
यो निर्णयसँगै उक्त नगरपालिका नागरिक समाजको तर्फबाट अगाडि बढाइएको रूखको अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र (युनिभर्सल डिक्लेरेसन अफ द राइट्स अफ द ट्री) नामक अभियानमा हस्ताक्षर गर्ने क्यानडाको पहिलो नगरपालिका पनि बनेको छ।
सन् २०१८ नोभेम्बर १८ मा फ्रान्सको पेरिसमा वातावरणीय अभियन्ता रिकार्डो रेको पहलमा यो नागरिक समाजको घोषणा गरिएको थियो। यसको उद्देश्य पृथ्वीको पारिस्थितिक सन्तुलन कायम राख्न रूखको अपरिहार्य भूमिकालाई स्वीकार गर्दै रूखलाई कानुनको दृष्टिमा अधिकारयुक्त विषयका रूपमा मान्यता दिलाउनु हो।
यस घोषणापत्रलाई संयुक्त राष्ट्रसंघ, युरोप परिषद्, युरोपेली आयोग र युरोपेली संसद् समक्ष निवेदनका रूपमा प्रस्तुत गरिएको छ। यसको दीर्घकालीन लक्ष्य ‘रूखका अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र’ तथा ‘रूखको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ लाई विश्वका सबै राष्ट्रले स्वीकार गर्ने अन्तर्राष्ट्रिय सहमतिका रूपमा स्थापित गर्नु हो।
वातावरणीय कानुनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था इकोजुरिस्प्रुडेन्स मोनिटर का अनुसार घोषणापत्र सार्वजनिक भएयता यसको समर्थनमा विश्वभरका ८७ हजारभन्दा बढी व्यक्तिले हस्ताक्षर गरिसकेका छन् र यो क्रम जारी छ।
“यो निर्णय जलवायु परिवर्तनसँग जुध्न र भावी पुस्ताका लागि हरियाली जोगाउन महत्वपूर्ण हुनेछ,” टेरास–भोद्रुइल नगरपालिकाका नगरप्रमुख मिसेल बुर्दो ले क्यानेडियन प्रेस समाचार संस्थासँग भनेका छन्।
बुर्दोका अनुसार अब कुनै रूख काट्नै परे त्यसको उचित संरक्षण वा अनिवार्य प्रतिस्थापन सुनिश्चित गर्न नगरपालिकाका सबै विद्यमान नियम तथा कानुनको पुनरावलोकन गरिनेछ। नगरपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क बिरुवा वितरण गरी थप वृक्षरोपण अभियान पनि सञ्चालन गर्ने योजना बनाएको छ।
“रूख हाम्रो सबैभन्दा ठूलो सहयोगी हो,” नगरप्रमुख बुर्दोले भनेका छन्, “यी केवल हरिया बोटबिरुवा होइनन्, हाम्रो जीवनको आधार हुन्। रूखले सहरी तापमान कम गर्छ, हावाको गुणस्तर सुधार्छ, पानीका स्रोत संरक्षण गर्छ र जैविक विविधतालाई जोगाउँछ।”
नगरप्रमुख बुर्दोका अनुसार टेरास–भोद्रुइलका नागरिकहरू जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगिरहेका छन्। पछिल्ला केही वर्षमा उक्त नगरपालिका तीनपटक ठूलो बाढीबाट प्रभावित भइसकेको सन्दर्भमा जलवायु संकटसँग जुध्न रूख संरक्षणभन्दा प्रभावकारी उपाय अर्को नरहेको उनको निष्कर्ष छ।
त्यसो त, यो अभियानको प्रेरणा क्युबेकका चलचित्र निर्माता आन्द्रे डेसरोशे ले निर्माण गरेको ‘दे जार्ब ए दे जार’ नामक वृत्तचित्रबाट आएको हो। उक्त चलचित्रले रूख केवल वनस्पति नभई सास फेर्ने, पानी ग्रहण गर्ने र जरामार्फत एक–अर्कासँग सञ्चार गर्न सक्ने जीवित अस्तित्व भएको सन्देश दिएको थियो। यही सन्देशबाट प्रभावित भएर स्थानीय नागरिक र नगर परिषद्ले यस्तो ऐतिहासिक निर्णय लिएको नगरप्रमुख बुर्दोले बताएका छन्।
“रूख पनि मानिसजस्तै हो,” उनले भने, “यसले सास फेर्छ, बाँच्छ, पानी पिउँछ र हामीलाई अनेक प्राकृतिक जोखिमबाट जोगाउँछ।”
रूखको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र अभियानका तीन प्रमुख सिद्धान्त छन्। पहिलो सिद्धान्त रूख जीवित प्राणी हुन् र सम्पूर्ण मानवजातिको साझा सम्पत्ति हुन् भन्ने हो भने पृथ्वीमा जीवनको अस्तित्व नै रूखमा निर्भर छ भन्ने दोस्रो सिद्धान्त हो। त्यसैगरी मानिसले रूखसँग भाइचाराको भावना र सहअस्तित्वको सम्बन्ध कायम राख्नुपर्छ भन्ने तेस्रो सिद्धान्त हो।
प्रकृतिको अधिकारका विषयमा कार्यरत इन्टरनेसनल अब्जर्भेटरी अफ नेचर राइट्स की अध्यक्ष येनी भेगा कार्डेनास का अनुसार संसारभर नदी, जंगल र प्राकृतिक क्षेत्रलाई कानुनी अधिकार दिने अभियान तीव्र बन्दै गएको छ। न्युजिल्यान्ड, कोलम्बिया तथा क्यानडाका केही क्षेत्रमा नदीलाई कानुनी अधिकार प्रदान गरिएको उदाहरण रहेका छन्। स्थानीय क्षेत्रीय सरकार र इन्नु काउन्सिल अफ एकुआनिटशिट ले सन् २०२१ मा क्युबेककै म्याग्पी नदीलाई कानुनी हैसियत प्रदान गरेका थिए। तर रूखलाई पनि स्वतन्त्र पारिस्थितिक प्रणालीका रूपमा स्वीकार गर्दै अधिकारको मान्यता दिइएको यो पहिलो पटक हो।
कार्डेनासका अनुसार एउटा रूख आफैंमा असंख्य जीवजन्तु, चराचुरुंगी, कीरा तथा सूक्ष्म जीवको बासस्थान हो। यसले छायाँ, अक्सिजन, खाद्य स्रोत र जैविक सन्तुलन प्रदान गर्छ।
“हामीले रूखको गरिमा स्वीकार गर्नुपर्छ,” उनले भनिन्, “रूखसँग भावना नहुन सक्छ, तर संवेदना हुन्छ। उनीहरूले आफ्नै तरिकाले वातावरण महसुस गर्छन् र एक–अर्कासँग सञ्चार पनि गर्छन्।”
क्यानेडियन प्रेससँग कुरा गर्दै पर्यावरणसम्बन्धी कानुनी संस्था इकोजस्टिस की अधिवक्ता कारिन पेलोफी ले पनि यो निर्णयलाई प्रकृतिको अधिकार स्थापित गर्ने विश्वव्यापी अभियानमा ‘अत्यन्त आशावादी कदम’ को संज्ञा दिएकी छन्।
“कम्पनीहरूजस्ता निर्जीव संस्थाले कानुनी व्यक्तित्व र अधिकार पाउन सक्छन् भने साँच्चिकै जीवित रहेका रूखले किन त्यस्तो अधिकार पाउन नसक्ने?” उनको प्रश्न छ।
प्रकृतिलाई अधिकार दिने अवधारणा अब वातावरण संरक्षणको नयाँ कानुनी अभ्यास बन्दै गएको चर्चा गर्दै उनले यसले ‘विकास र संरक्षणबीच सन्तुलन’ कायम गर्न मद्दत गर्ने बताइन्।
प्राकृतिक स्रोतलाई केवल उपयोग गर्ने वस्तु मात्र नभई अधिकारसहितको जीवित सहयात्री का रूपमा स्वीकार गर्ने यो अवधारणाले भविष्यमा अन्य देश र स्थानीय सरकारलाई समेत नयाँ सोचतर्फ प्रेरित गर्न सक्ने विश्वास गरिएको छ।
प्रकाशित: ९ असार २०८३ १८:४९ मंगलबार





