१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बिपी राजमार्गमा आज पनि सवारी सञ्चालनमा रोक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा भारी वर्षाको सम्भावना एवं बढीपहिरोको उच्च जोखिम पूर्वानुमान गरेपछि बिपी राजमार्गमा हिजो (बिहीबार)देखि दुई दिन सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै बिहीबार साँझ ५ देखि शुक्रबार बिहान ६ बजेसम्म दुई दिन अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। उक्त राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धुली सीमा नेपालथोकको सडकखण्डमा दुई दिन सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए। उनका अनुसार रोशी खोला तथा स्थानीय सहायक खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै बेला स्थानमा सवारीसाधन रोक्न सक्नेछ।

यसैगरी समितिले दुई दिनको अवधिमा अत्यन्त जरुरी नभएसम्म बाहिर ननिस्कने, विशेष गरी टाढा नजाने र रातको समयमा यात्रा नगर्न अनुरोध गरेको छ भने पहिरोको जोखिम रहेको तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिन सवारी सञ्चालनमा रोक लगाइएकामा यही असोज १ गतेदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो।  

यस्तै समितिले हाल मनसुन थप मात्रामा सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम कम गर्न राजमार्गको उल्लेखित क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ। काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीसाधनलाई सिन्धुलीको सिमाना नेपालथोकमा नै रोकिने छ।  

मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० देखि बिहान ५ बजेसम्म करिब १० घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ देखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो।  

गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड नै बगाएका कारण खोलामा कतै एकतर्फी र कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ। बाढीपहिरोले राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्या‍एको थियो।  

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन गुड्छन्।  

प्रकाशित: १४ कार्तिक २०८२ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App