यो पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ । घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो ।
भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर मूल्य बढी तिरेर फूल लिइरहेका छन् ।
आइतबारदेखि तिहार सुरु हुँदैछ । तिहारको संघारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । व्यापारीले आज एउटा मखमली फूलको माला ८० रुपैयाँमा बिक्री गरिरहेका छन् । गुण्डुका किसानबाट भने शुक्रबारसम्म मखिमली फूलको प्रतिमाला २२ रुपैयाँदेखि २५ रुपैयाँ सम्ममा खरिद गरेका किसानहरूले जनाएका छन् ।
गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजदेखि घरदैलोमा आएका व्यापारीले किसानबाट ३० देखि ३५ रुपैयाँमै मखमली फूलको माला लिन थालेको र बजारमा प्रतिमाला ८० देखि ९० रुपैयाँमा बिक्री गर्न थालेको बताए । किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेको उनले गुनासो गरे ।
चाँगुनारायण–९ का स्थानीय पुष्प किसानले ३० रुपैयाँमा माला बिक्री गरेकामा तिहार आएसँगै मूल्य बढेको बताएका छन् । भक्तपुरको गुण्डुकी मीना नगरकोटीले १५ वर्षदेखि व्यावसायिक रूपमा फूल तथा माला बिक्री गर्दै आएकी छन् । यसपटक तिहार आएसँगै व्यापारी र बिचौलिया नै प्रतिस्र्धामा मूल्य बढाएर किसानको घरघरबाटै फूल उठाउन थालेको उनले बताइन ।
स्थाननीय उर्मिला नगरकोटी तिहारको बेला फूल र मालाको व्यापारबाटै एउटा परिवारले एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताइन । उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोडभन्दा बढीको फूल उत्पादन तथा बिक्री हुने गरेको छ ।
स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो साडे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन लाख आम्दानी गरेको बताए । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको २० देखि २५ रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनले सुनाइन ।
सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ । किसानले सयपत्री ढ्वाङ्को सात सयसम्म बिक्री गरेको र बजारमा भने किलोमा चार सयदेखि पाँच सयमा बिक्री हुने गरेको बस्नेतले बताए ।
यहाँका किसानले एकैघरबाट ३० हजारदेखि तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको ४५० रुपैयाँमा र मखमली फूलको माला ७० रुपैयाँमा बिक्री भइरहेको बताए । फूलको मूल्य भोलीदेखि अझै बढेर आउने उनले बताए । ।
यसवर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूल मरेर उत्पादन कम भएपछि महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए । उनले टनेल बाहिर खल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले मूल्य वृद्धि भएको बताए ।
प्रकाशित: १ कार्तिक २०८२ १६:२४ शनिबार





