११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

रसुवा बाढीमा ३२ देशका पर्यटक बेपत्ता

रसुवा, नुवाकोट, धादिङ र गोरखाका भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको आकस्मिक बाढीपछि ६४४ जना यात्रु सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बिहीबार दिउँसो १२ बजेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट १२७ नेपालीसहित विभिन्न ३३ देशका ६४४ जना यात्रु हराइरहेको जानकारी प्राप्त भएको बोर्डले जनाएको हो। 

बोर्डका अनुसार हराउनेमा भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५ र जर्मनीका ८ नागरिक छन्। त्यस्तै रुसका ८, लात्भियाका ६, दक्षिण अफ्रिकाका ६, जापानका ५, न्युजिल्यान्डका ५ तथा फ्रान्सका ४ नागरिक पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। 

अन्य देशका नागरिकमध्ये बेल्जियमका ३, इटालीका २, आयरल्यान्डका २, कजाकिस्तानका २, नेदरल्यान्ड्सका २, पोर्चुगलका २, सिंगापुरका ९, स्विट्जरल्यान्डका १, स्वीडेनका १, सर्बियाका १, फिलिपिन्सका १, लिथुआनियाका १, इजरायलका १, फिनल्यान्डका १, हंगेरीका १, बुल्गेरियाका १ र बेलारुसका १ जना छन्। 

बोर्डले ट्रेकिङ तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक सूचनाका आधारमा विवरण संकलन गरिएको र ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँगको समन्वयमा विवरण पुष्टि तथा रुजु गर्ने काम भइरहेको जनाएको छ। 

बोर्डका अनुसार भोटेकोशी र त्रिशूली नदी किनारका चार जिल्लामा गम्भीर क्षति पुगेको भए पनि अन्य पर्यटकीय क्षेत्र प्रभावित भएका छैनन्। प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकाय सक्रिय रहेको बोर्डले जनाएको छ।

घाइते तथा अलपत्र परेका व्यक्तिको उद्धारका लागि सम्पूर्ण प्रयास भइरहेको जनाउँदै बोर्डले पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएको छ। 

बोर्डले आपत्कालीन अवस्थामा टोल–फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै नजिकैको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App